माछापुच्छ्रे गाउँपालिका- ५, पोखरा, रिभानको निष्पक्ष माविलाई स्वीट्जरल्यान्डका नागरिकले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । विद्यालय परिसरको पहिरो नियन्त्रण गर्न जर्ज मेर्ज मार्टिन सिंगर र कुस्ची दम्पतीले उक्त सहयोग गरेका हुन्।
पूर्व शिक्षिका क्रान्ति गिरी र स्वीट्जरल्यान्डका नागरिक एरिकको पहलमा सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर रावतले जानकारी दिए । उक्त सहयोग शुक्रबार एक कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरियो ।
यो सहयोगबाट विद्यालय प्रांगणमा गएको पहिरो नियन्त्रणमा धेरै राहत हुने प्रअ रावतले सुनाए । ‘हाम्रो विद्यालय अगाडि पहिरो गएको छ । यो विषयमा स्वीट्जरल्यान्डबाट घुम्न आएका एरिक र क्रान्ति मिसले पहल गर्नुभयो,’ उनले भने, ‘एरिकले पनि केही सहयोग गर्नुभएको थियो । पछि उहाँकै पहलमा मार्टिन दम्पतीले १५ लाख सहयोग पठाउनु भयो ।’
पहिरो नियन्त्रणमा करिब ३५ लाख आवश्यक पर्नेमा यसअघि गण्डकी प्रदेश सरकारको ७ लाख ५० हजार र माछापुच्छ्रे गाउँपालिकाको ५ लाख रुपैयाँबाट पहिरो छेक्न जग हालिएको उनले बताए ।