ताजा अपडेट

ट्रेन्डिङ

विज्ञान, व्यवस्थापनमा विद्यार्थीको दबदबा : शिक्षा संकायमा विद्यार्थी अभाव

Gyan Khabar

ज्ञानखबर संवाददाता

७ भदौ २०८०, बिहिबार
434 पटक हेरिएको
विज्ञान, व्यवस्थापनमा विद्यार्थीको दबदबा : शिक्षा संकायमा विद्यार्थी अभाव

सत्य राम कासिछ्वा

विभिन्न विद्यालयको कक्षा ११ मा अध्ययनका लागि प्रवेश परीक्षा तथा भर्नामा विज्ञान, व्यवस्थापन, कानुन, नर्सिङ, ट्राभल टुरिजम लगायत नयाँ विषयमा विद्यार्थीहरुको रुचि अत्यधिक रहेको पाइन्छ । शिक्षाशास्त्र विषयमा भने विद्यार्थीको सङ्ख्या औलामा गन्न सकिने अवस्थामा छ ।

विषय छनोटको आधारमा समाज र टोलमा आफ्नो सामाजिक अवस्था किटान गर्ने नाउँमा यहाँ विज्ञान र व्यवस्थापन संकायमा देखिएको विद्यार्थीको क्रेज विद्यार्थीको स्वविवेक भन्दा पनि अभिभावकको रुचि तथा शिक्षकको निर्देशन तथा साथीभाईको संगतलाई पनि लिन सकिन्छ ।

सरकारले वार्षिक रुपमा कस्तो प्रकारको जनशक्ति केकति संख्यामा आवश्यक छ, सो अनुरुपको तथ्यांक निकाल्न सकेको छैन । तर आवश्यक जनशक्तिको लागि विषय छनोटमा जीपीए र ग्रेड मात्रै निर्धारण गरियो । यसले आवश्यक संख्या भन्दा कयौं गुणा बढी विज्ञान र व्यवस्थापन विषयको छनोटमा अत्यधिक चाप पर्ने गरेको छ भने शिक्षाशास्त्रमा विद्यार्थी संख्या नै पुग्दैन ।

यसले रोजगारीको क्षेत्रमा अत्यधिक प्रतिस्पर्धाको कारण सीमित व्यक्तिले मात्रै रोजगारी पाउने र नेपालमा पढे अनुसार रोजगारी नपाएको निहुँमा विदेश पलायन हुने तथा विद्यालय सेवामा प्रवेश गर्ने गराउने परिपाटी विकसित भयो । यसबाट नेपालको दक्ष जनशक्तिको उत्पादनले विदेशको सामान्य रोजगारी पाउन सहायकसिद्ध मात्रै भयो ।

विषयहरुको वास्तविकता केलाउँदा विज्ञान तथा व्यवस्थापन लगायत मानविकी र कानुन शास्त्रको अध्ययन पश्चात् रोजगारी गर्न विद्यालयको शिक्षण सेवामा सहजै पाउन सक्ने तर शिक्षा संकाय पढ्दा एसईईमा पाएको थोरै अंक वा जीपीएको आधारमा शिक्षण अध्यापनमा सेवा नपाउने वास्तविकता रहेको छ ।

विश्वमा कतै नभएको गैरशिक्षाशास्त्रको हितको लागि शिक्षा विधेयक, ऐन र कार्यान्वयनमा समेत राजनीतिक दलका शिक्षक संगठनहरु आन्दोलन गर्ने र दबाब दिने संस्कार बसेको छ । शिक्षा शास्त्रका उत्पादन नै विद्यालयको लागि आधारभूत आवश्यकता हो भन्ने मनसाय नराखी परम्परागत तथा पुरातन सोचले शिक्षक नियुक्तिमा शिक्षा सेवा आयोग समेत लागेको देखिन्छ ।

मूलत शिक्षाशास्त्र जीवनोपयोगी सीप र व्यवहारले भरिएको अध्ययन क्षेत्र हो । यसमा सिद्धान्त भन्दा बढी प्रयोग र व्यवहारसँग सम्बन्धित सीप, अवधारणा र ज्ञान प्रदान गरिन्छ । तैपनि यस्तो व्यवहारिक सिकाई हुने शिक्षाशास्त्र प्रति सरकारको नीति प्रष्ट नहुँदा मार्गनिर्देशन दिने शिक्षक, शिक्षाविद्, विषयविज्ञ तथा बुद्धिजिवीहरु उच्च ग्रेड वा जीपीए ल्याउनेलाई शिक्षाशास्त्र पढ्न उत्साहित किन उत्साहित गरिँदैनन् । यसमा ती विज्ञहरु नै विगतमा उच्चतम अंक ल्याएर विज्ञान तथा व्यवस्थापन पढ्दा सो अनुरुप रोजगारी नपाएको तर एक वर्षे विएडले शिक्षणमा सहजै प्रवेश पाएका कारण पनि शिक्षाशास्त्र पढ्न उत्साहित गर्न नसकेको हो कि भनेर प्रश्न गरेर शंका गर्न सकिन्छ ।

यसरी हरेक वर्ष शिक्षाशास्त्र संकायमा विद्यार्थी घट्दा विद्यालयको लागि आवश्यक शिक्षक जस्ता जनशक्ति अन्य अध्ययन क्षेत्रबाट ल्याउँदा बाल मनेविज्ञान, पाठ्यक्रम पाठयोजना निर्माण, शिक्षाको दर्शन तथा समाज शास्त्रीय आधार, शिक्षणको प्रयोगात्मक अभ्यास एवम् शिक्षाको राष्ट्रिय उद्देश्यको मूल भाव नबुझेपछि राष्ट्रिय सिकाई उपलब्धी र स्तर खस्कँदो क्रममा रहेको छ ।

तैपनि यस्ता सबै कुरा बुझेर पनि विज्ञान, व्यवस्थापन विषयमा विद्यार्थीको माहोल बढ्दा अन्त्यमा रोजगारको लागि विद्यालय सेवामा प्रवेश गर्न खोज्नु, विदेश पलायन हुनु विद्यार्थी स्वयम् र आफ्नो अध्ययनको विषयको क्षेत्रको लागि आत्मघाटी हुनसक्छ ।

यसर्थ विषय छनोटमा देशको आवश्यक जनशक्तिमा आफ्नो भविष्य केकति सुरक्षित छ त्यसको निक्र्यौल गरेर मात्र विषयहरुको छनोट गर्न शिक्षक विज्ञहरुले उचित मार्गनिर्देशन र सुझाव दिन कन्जुस्याई गर्दा विद्यालयको शैक्षिक स्तर विदेशी अनुदान पाउने आशमा लागु गरिएको ग्रेडिङ प्रणालीले झनझन् खस्किएको छ ।