क्वेस्ट नेपालमातहतको एफिनिटी हबले आयोजना गरेको आठौं ‘हब एसक्युसी’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन सम्पन्न भएको छ।
स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलमा शनिबार उक्त सम्मेलन सम्पन्न भएको हो। विद्यार्थीका समस्या आफैं पहिचान गरी वैज्ञानिक विधि, प्रक्रिया र विभिन्न उपकरण प्रयोग गरी समाधान रणनीति तय गर्दै समस्या समाधान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार शैक्षिक संस्थामा विद्यार्थीले दिनहुँ भोग्नुपरिरहेका शैक्षिक, व्यावहारिक, अनुशासनलगायत समस्या पहिचान गरी तिनको उचित र दीर्घकालीन समाधान खोज्न सम्मेलन गरिएको हो।
सम्मेलनमा स्वस्तिश्री गुरुकुल स्कुल, ब्राइट फ्युचर मावि, निर्वाना एकेडेमी, ऋचा सहशिक्षा सदन, जेसिस इन्टरनेसनल स्कुल, पिनाकल एकेडेमीलगायतका ७१ विद्यार्थी सहभागी थिए।
विद्यार्थीले केस स्टडी, वादविवाद, चित्रकला, कोलाज, कथा निर्माणका साथै प्यानल डिस्कसन गरी निष्कर्ष निकालेका थिए। सम्मेलन उद्घाटन बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले गरेको थिए।
सम्मेलनमा एसक्युसीका संस्थापक अध्यक्ष प्राध्यापक दिनेशप्रसाद चापागाईं, वरिष्ठ उपाध्यक्ष नारद रिजाल, एफिनिटी हब अध्यक्ष लक्ष्मीराज दाहाल, स्वस्तिश्री गुरुकुलका प्रधानाध्यापक नेहा केसी, क्वेस्ट नेपालका केन्द्रीय सदस्य मोहनकुमार कार्की, उपाध्यक्ष देवराज घिमिरे, वरिष्ठ सल्लाहकार निराजन अधिकारी, स्वस्तिश्री गुरुकुलका प्रबन्ध निर्देशक मिना महर्जन चित्रकार, क्वेस्ट नेपालका महासचिव सिंहबहादुर लामा, क्वेस्ट नेपाल नेसनल काउन्सिल अध्यक्ष सुवर्ण केसी, क्वेस्ट नेपाल अध्यक्ष सुरिना सुनयनी गुरुङलगायत सहभागी थिए।
विभिन्न विधाका प्रतिस्पर्धी विद्यार्थीलाई सम्मेलनमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।