आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ११ बजेर २ मिनेटमा टीकाको उत्तम साइत भनेर तय गरेको छ । तर राष्टपतिले भने सर्वसाधारणलाई दुईबजेदेखि टीका लगाइदिने भएका छन् । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ ।
राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ । राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको छ ।
अन्य सर्वसाधारणका लागि अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने महानुभावले मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्नेछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ । दुर्गा बिसर्जन गर्नका लागि समितिले १० बजेट ३७ मिनेटको साइत तोकिदिएको छ । कसैलाई टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि सकिने उनले बताए ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्ने चलन छ।