ताजा अपडेट

ट्रेन्डिङ

‘विद्यार्थी पलायनले दुःखी बनाए पनि स्थिति निराशाजनक छैन’

Gyan Khabar

ज्ञानखबर

मङ्ल, पुस १०, २०८०
210 पटक हेरिएको
‘विद्यार्थी पलायनले दुःखी बनाए पनि स्थिति निराशाजनक छैन’

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विद्यार्थी पलायनको भाष्यले दुःखी बनाए पनि स्थिति साह्रै निराशाजनक नभएको बताए ।  पकनाजोलस्थित पिल्पस क्याम्पसले ४२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताएको हो।

“नेपालमा साक्षरताको दरको तुलना गर्दा उच्च शिक्षा दिने संस्थाको आवश्यकता अझै देखिन्छ,” प्रा. डा. थापाले भने, “राजनीतिक संक्रमण पाँच दशकदेखि लम्बिएकाले शिक्षा क्षेत्रमा असर देखिएको हो ।  विद्यार्थी पलायनको भाष्यले दुःखी बनाए पनि स्थिति साह्रै निराशाजनक छैन। ”

अहिले काठमाडौं विश्वविद्यालयले भारतमा योगको कक्षा चलाइरहेको र निकट भविष्यमा अस्ट्रेलियाको सिड्नी तथा हङकङमा पनि कक्षा चलाउने तयारी गरिरहेको जनाउँदै डा. थापाले अबका दिनमा विश्वविद्यालय अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धी बन्नुपर्ने आवश्यकता रहेको बताए ।

पिपल्स क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रमोदराज शर्माले क्याम्पसका कुनै पनि समस्या सामूहिक रूपमा छलफल गरेर समाधान खोज्ने गरिएको बताउनुभयो।  कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख निर्मलमणि पन्थीले क्याम्पसको भौतिकदेखि शैक्षिक अवस्थासम्म सुधार ल्याउन सबैको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

वार्षिकोत्सवमा कार्यक्रमा २५ वर्षभन्दा बढी अध्यापन गराउने प्राध्यापक तथा सेवा गर्ने कर्मचारीलाई दीर्घसेवा सम्मान गरिएको थियो ।  त्यसैगरी त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

२०३८ सालमा स्थापना भएको पिपल्स क्याम्पसमा व्यवस्थापन संकायको पठनपाठन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पिपल्समा स्नातक र स्नातकोत्तरमा गरी एक हजार ३१० विद्यार्थी अध्ययनरत छन् ।  क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले सीमित साधनस्रोतबाट क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।