ताजा अपडेट

ट्रेन्डिङ

विश्वविद्यालय अनुदान आयोगद्वारा बागीश्वरी कलेजको अनुगमन

Gyan Khabar

ज्ञानखबर

बुध, माघ १०, २०८०
384 पटक हेरिएको
विश्वविद्यालय अनुदान आयोगद्वारा बागीश्वरी कलेजको अनुगमन

वागीश्वरी कलेज कमलविनायक तौलाछेंको गुणस्तर सुनिश्चितता एवं प्रत्यायनको लागि विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोलीले माघ ७, ८,९ र १० गते लगातार गरेको कलेजको अनुगमन सम्पन्न भएको छ ।

समापन कार्यक्रममा टोलीका संयोजक प्रा.डा. प्रेमराज पन्तले वागीश्वरीलाई नजिकवाट नियालिरहेको बताउँदै पछिल्ला २ वर्षमा कलेजले सबैको साझा प्रयासबाट फड्को मारेको विचार व्यक्त गरे ।

गुणस्तरको सुनिश्चितता एकचोटिको प्रयासले मात्र नहुने भन्दै उनले भने –‘गुणस्तर एउटा निरन्तरको प्रक्रिया हो सेवाग्राही विद्यार्थी र समुदायलाई सन्तुष्ट पार्दै चरित्रवान जनशक्ति उत्पादन गरी त्यसले समाजलाई पुर्‍याउने योगदान नै कलेजको वास्तविक गुणस्तर हो ।’

कमी कमजोरी नभएको कुनै संस्था हुँदैन यद्यपि संस्थालाई थप राम्रो बनाउन हामी सुझाव दिने गछौं‌ भन्दै उनले आगामी दिन समयतालिका बनाई योजनाबद्ध ढङ्गले कार्य गर्न सुझाव दिए । कलेज व्यवस्थापन समितिले छुट्याएको अनुसन्धानको बजेट सदुपयोग गर्न विशेष जोड दिंदै उनले अनुसन्धानविना कलेजको महत्व नहुनेमा प्रकाश पारे ।

गुणस्तरसँग सम्बद्ध कलेजका विभिन्न पक्षसँगै अन्तक्र्रिया गर्दा सबैबाट आफूहरुले सकारात्मक पाएको चर्चा गर्दै उनले भने – ‘विगतबाट पाठ सिक्दै भविष्यलाई उत्साहित गरेर हामी अघि बढ्नुपर्छ । ’

bagi ugc2

कार्यक्रमका सभापति कलेज व्यवस्थापन समितिको अध्यक्ष सुनिल प्रजापतिले टिमले दिएका सुझावहरु दिइएको समयावधिभित्रै इमानपूर्वक पूरा गर्ने प्रतिवद्धता जनाउँदै अनुगमन गरी शैक्षिक सुधारको लागि आवश्यक सुझाव दिनुभएकोमा टिमप्रति हार्दिक आभार व्यक्त गरे ।

कार्यक्रममा टिमका सदस्य प्रा.डा. रेजिना मास्केले वागीश्वरी कलेजको सबैभन्दा सबल पक्ष शिक्षक, विद्यार्थी र समुदाय सबैले अपनत्व ग्रहण गर्नु हो भने छात्राहरुको सक्रिय अत्यन्त प्रशंसा योग्य पक्ष हो भने ।

कार्यक्रममा टिमका सदस्य नवीना चौलागाई, कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र कलेजको स्वअध्ययन टोलीका संयोजक विनोद प्रजापतिले पनि बोलेका थिए ।