प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकोमा खुसी व्यक्त गर्दै उहाँले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “कृषिक्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ । जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ ।”
विश्वविद्यालयले देशैभरि सबै प्रदेशहरूमा आंगिक कलेजहरू स्थापना गर्नेे लक्ष्यअनुरूप विभिन्न प्रदेशमा ८ वटा कृषि सङ्काय र १ वटा वनविज्ञान सङ्काय अन्तर्गतका कलेज र दुई वटा कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गर्नुहुँदै उहाँले स्याङ्जा र गोरखाका स्वीकृत कलेजहरूमा समेत शैक्षिक कार्यक्रम सुरू गर्न सुझाव दिए ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएको छ ।
उहाँले उत्पादन र उत्पादकत्व वृद्धिगरी कृषिको आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन एवम् राष्ट्रिय व्यापारघाटा कम गर्नका लागि विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
विश्वविद्यालयले अनुसरण गरिराखेका शिक्षण अनुसन्धान क्रियाकलापहरू, शिक्षण र अनुसन्धान क्रियाकलापमा गरिरहेका अन्तर्राष्ट्रियकरणका कार्यहरू, भौतिक पूर्वाधार र कलेजहरू विकासजस्ता कार्यलाई दिगो रूपमा सञ्चालन गर्न रचनात्मक अभियान सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।
नेपालमा कृषि, पशु चिकित्सा, मत्स्यविज्ञान, पशुविज्ञान र वनविज्ञान क्षेत्रलगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो महसुस गरी विसं २०६७ मा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना गरिएको थियो ।