भक्तपुर नगरपालिका राममन्दिरस्थित मिनर्वा इङ्लिस स्कूलको आयोजनामा भएको सांस्कृतिक तथा शैक्षिक प्रदर्शनीको शनिबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेको छ ।
विद्यालय प्रांगणमा भएको उक्त प्रदर्शनीको अवलोकन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको स्थानीय कला, संस्कृति र उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित शैक्षिक प्रदर्शनी निकै जिीवन्त रहेको बताउँदै भक्तपुरको मौलिकता झल्काउने प्रदर्शनी आयोजनाको लागि विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे ।
भक्तपुरका विद्यार्थीहरुलाई भक्तपुर नपाभित्रका कला संस्कृति र सम्पदाहरुको ऐतिहासिक र सांस्कृतिक महत्वबारे जानकारी दिनु हामी सबैको कर्तव्य भएको बताउँदै उहाँले भक्तपुरको इतिहास, भूगोल, राजनीति, संस्कृति, सीप, प्रविधि, खेल आदिबारे विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउने उद्देश्यले भक्तपुर नपाले स्थानीय पाठ्यक्रम ख्वपको पहिचान तयार गरी सबै विद्यालयहरुमा अध्यापन गराउँदै आएको बताए ।
नेपाल सबै जातजाति, भाषाभाषीको साझा फूलबारी भएको बताउँदै उहाँले मौलिकता जोगाउन सके मात्र हाम्रो अस्तित्व र पहिचान बाँकी रहने धारणा उहाँले व्यक्त गरे ।
शैक्षिक प्रदर्शनीमा भक्तपुरका कला संस्कृति, जीवनशैली झल्किने विषयवस्तुहरु प्रदर्शनीमा राखिएको थियो । साथै भक्तपुरको प्रसिद्ध भैल प्याखं, कवांचा प्याखं, खिचा प्याखं, धिमे, बाँसुरी बाजालगायतको प्रदर्शनी गरिएको थियो ।