गोरखा नगरपालिकाले आफु मातहातका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ ।
विद्यालयहरुलाई निर्देशन पत्र जारी गर्दै शैक्षिक सत् २०८१ का लागि भर्ना हुन सुरु हुनुभन्दा पहिले सामुदायिक विद्यालयमा समान पहुँच र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार एवम् प्रभावकारी बनाउन उक्त निर्णय गरिएको गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिए ।
उनका अनुसार आगामी शैक्षिक सत्रका लागि आउँदो वैशाख १ गतेबाट नयाँ भर्ना सुरु हुने भएकाले नगरपालिकाको नगरसभाबाट पारित भएका निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन गरिएको हो । नगरपालिकाको निर्णय अनुसार अब जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी लगायत सार्वजानिक पद धारण गरेका व्यक्तिले आगामी शैक्षिक सत्र २०८१ बाट आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्नेछ ।
गत चैत २४ गते बसेको नगर शिक्षा समितिको बैठकले नगरशिक्षा समितिले गरेका निर्णय कार्यान्वयनमा नआए कारबाही गरिने समेत निर्देशन पत्रमा अबगत गराएको छ । साथै सबै सामुदायिक विद्यालयले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमको पूर्णरुपमा पालन गर्न पनि निर्देशन गरेको छ ।