ताजा अपडेट

ट्रेन्डिङ

परीक्षा सकिएको चार दिनमै नतिजा, त्रिविको इतिहासमै पहिलो पटक

Gyan Khabar

ज्ञानखबर

२१ साउन २०८१, सोमबार
802 पटक हेरिएको
परीक्षा सकिएको चार दिनमै नतिजा, त्रिविको इतिहासमै पहिलो पटक

त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ । यही साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित गरिएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार प्रथम वर्षको परीक्षा सकिएको चौथो दिन साउन १३ गतेदेखि नतिजा प्रकाशन सुरु गरेर शनिबार सकिएको छ । साउन १३ गते प्रथम वर्षका अङ्ग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्रलगायतका विषयको नतिजा सार्वजनिक गरिएको थियो ।

साउन १९ गते शनिबार राजनीतिशास्त्र विषयको परीक्षाको नतिजा प्रकाशन गरिएको हो । परीक्षा यही साउन २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षामा ७९६ जना परीक्षार्थी सहभागी थिए ।

त्रिविले परीक्षा समाप्त भएको लामो समयसम्म पनि नतिजा सार्वजनिक गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको थियो । यति छोटो समयमा नतिजा सार्वजनिक गरिएको सम्भवतः त्रिविको इतिहासमै पहिलो पटक भएको दाबी गरिएको छ ।

परीक्षा नियन्त्रक जोशीले भने, “स्रोतसाधनले भ्याएसम्म परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको कामलाई छिट्टै गर्छौं । अन्य विषयका नतिजा पनि छिट्टै प्रकाशन गर्ने तयारीमा छौँ ।”