ताजा अपडेट

ट्रेन्डिङ

महिला उद्यमीहरुलाई डिजिटल मार्केटिङ तालिम

Gyan Khabar

ज्ञानखबर

११ भदौ २०८१, मङ्गलबार
661 पटक हेरिएको
महिला उद्यमीहरुलाई डिजिटल मार्केटिङ तालिम

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अहिलेको प्रतिस्पर्धात्मक बजारमा सफलता हासिल गर्नको लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समिति र भक्तपुर उद्योग वाणिज्य संघको महिला उद्यमी उपसमितिको संयुक्त आयोजनामा महिला उद्यमीहरुलाई लक्षित गरी मंगलबार संघको सभाहलमा सञ्चालित डिजिटल मार्केटिङ सम्बन्धी तालिम कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ श्रेष्ठले अनलाइन बजारको जमानामा हरेक महिला उद्यमीहरु आधुनिक प्रविधिबारे जानकार हुनुपर्ने बताए ।

उनले कुनै पनि महिला उद्यमीमा प्रविधिसम्बन्धी ज्ञान भए सफल हुने दाबी गर्दै डिजिटल मार्केटिङ सम्बन्धी तालिम महिला उद्यमीहरुको व्यापार व्यवसाय प्रवद्र्धनको लागि उपयोगी सिद्ध हुने विश्वास व्यक्त गर्दै तालिममा सिकेका ज्ञानलाई आफ्नो व्यापार व्यवसायको विकासमा सदुपयोग गर्न आग्रह गरे ।

संघका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले अहिलेको प्रविधिको युग अनुसार महिला उद्यमीहरुले पनि प्रविधिको अधिकतम उपयोग गरेर आफ्नो उद्यम, व्यवसायलाई विकास र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । प्रविधिको प्रयोग गरी महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न वस्तुहरुको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको उनको भनाइ छ । तालिमले महिला उद्यमीहरुलाई नयाँ सूचना प्रविधिसँग जोडेर व्यवसायिक दक्षता एवं क्षमता वृद्धिको लागि सहयोग पुग्ने र उद्यमशीलतालाई अझै व्यवस्थित र समयसापेक्ष बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले समितिमार्फत देशभरका महिलाहरु उद्यमीहरुको विकास तथा प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिँदै वार्षिक कार्यक्रमअन्तर्गत भक्तपुर जिल्लाका महिला उद्यमीहरुलाई लक्षित गरी डिजिटल मार्केटिङ तालिम सञ्चालन गरिएको बताए । उनले तालिम महिला उद्यमीहरुको लागि प्रभावकारी हुने भन्दै तालिमबाट आफ्नो व्यापार व्यवसाय प्रवद्र्धनका लागि आवश्यक ज्ञान प्राप्त गरी भरपूर फाइदा उठाउन आग्रह गरे ।

संघका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक मञ्जिला सुवेदीले कार्यक्रम सञ्चालनको उद्देश्य बारे स्पष्ट पार्दै आजको प्रतिस्पर्धाको समयमा व्यापार तथा उद्यमशीलतामा प्रविधिको आवश्यकता अपरिहार्य भएकाले महिला उद्यमीहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताउँदै उपसमितिले आगामी दिनमा गर्ने महिला लक्षित विविध कार्यक्रमबारे जानकारी गराए ।

तालिममा महासंघको महिला उद्यमी विकास उपसमितिका उपसभापति स्वर्णा ताम्राकार र अस्मिता प्रधानले सहजीकरण गरेका थिए । तालिममा ७० जना महिला उद्यमीहरुको सहभागिता रहेको संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले जानकारी दिए ।