भक्तपुर, परदेश भिनसेनस्थान स्थीत आदर्श आजाद माविको ६५ औँ र आदर्श आजाद कलेजको १६ औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
समारोहमा प्रमुख अतिथि बिजुक्छेँले देशमा विदेशी पुँजी ल्याउन नहुने विचार व्यक्त गर्दै विदेशी पुँजीले देशलाई उपनिवेश बनाउन सक्छ भने । उनले नेपालले विश्व व्यापार सङ्गठनमा सदस्य हुन नहुनेमा आफूहरूले त्यसबेला धेरै विरोध गरे पनि सरकारले ध्यान नदिँदा आज शैक्षिक क्षेत्रमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा देशभित्र धेरै कलेजहरू खुलेर नेपाली विश्वविद्यालयको सम्बन्धनमा चलेका कलेजहरू बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
विद्यार्थीहरूमा रहेको विदेश जाने सोच शिक्षकहरूले परिवर्तन गर्न सक्ने उल्लेख गर्दै उनले शिक्षक देशभक्त भए विद्यार्थीहरू पनि देशभक्त हुने र शिक्षक विदेशी दलाल भए विद्यार्थी पनि त्यस्तै हुने हुन्छन्, त्यसैले देशभक्त शिक्षकले विद्यार्थीलाई विदेशको भन्दा स्वदेशको सेवा गर्न जोड दिनुपर्ने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा गर्दै आएका क्रियाकलापको चर्चा गर्दै मङ्सिर २८ देखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव सफल पार्न सम्पूर्ण नगरवासीको उत्साहजनक सहभागी र सहयोगको लागि अपिल गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखूले,नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति, सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुईले बोलेका थिए ।
कार्यक्रममा कलेजमा दीर्घ सेवा गरेका प्रा. सिद्धिरत्न शाक्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सम्मानित प्रा. शाक्यले बिजुक्छेँजस्ता आदर्श राजनीतिक व्यक्तित्वबाट आफू सम्मानित हुन पाउनु अहोभाग्य हो भन्दै आफ्नो शैक्षिक अनुभव सुनाए ।
प्रधानाध्यापक श्रीकृष्ण किसीले विद्यालय र कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहायक प्रअ चक्रबहादु चाकतुले स्वागत र प्लस टु इन्चार्ज राकेश सुकुपायोले धन्यवादज्ञापन गरेका थिए ।
कार्यक्रममा १० वर्ष स्कूलमा र ५ वर्ष प्लस टुमा सेवा गर्ने शिक्षकहरूलाई कदरपत्रले सम्मान गरिएको थियो भने अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति गरिएको थियो ।