ताजा अपडेट

ट्रेन्डिङ

मौसम अपडेट: चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

Gyan Khabar

ज्ञानखबर

शुक्र, चैत्र ८, २०८१
1250 पटक हेरिएको
मौसम अपडेट: चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका विभिन्न भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको हो।

महाशाखाका अनुसार, दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती पनि कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

मौसममा आएको यो परिवर्तनले दैनिक जीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङको जोखिम भएकाले सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ।