नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ को अवसरमा ललितपुरको चाकुपातस्थित युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा दुई दिने हिम जलविज्ञान तालिम सम्पन्न भएको छ।
तालिममा हिउँ पग्लिएर बग्ने पानीको मात्रा, तापक्रम वृद्धिको हिमतालमा पर्ने असर र हिम नदीको अवस्थाको पूर्वानुमान गर्न उपयोगी जाम्स जे२००० सफ्टवेयरको प्रयोगबारे प्रशिक्षण दिइएको थियो। विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) को आह्वानमा हरेक वर्ष मे महिनाको तेस्रो हप्ता मनाइने यो सप्ताह नेपालमा चैत ४ देखि १० गतेसम्म आयोजना गरिएको हो।
जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूले आयोजना गरेको यस सप्ताहअन्तर्गत अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थान (इमि) ले जल तथा मौसमविद् समाज-नेपाल (सोहम), एभरेष्ट इन्जिनियरिङ कलेज, द स्मल अर्थ नेपाल (सेन) र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको सहकार्यमा महिला प्राविधिकहरूका लागि सो तालिम सञ्चालन गरेको हो।
तालिममा दुधकोशी जलाधारको तथ्याङ्क प्रयोग गरी हिउँ पग्लिएर बग्ने पानी, खोलाको बहाव र भविष्यमा सुख्खायाममा खोला सुक्ने अवस्थाबारे जानकारी दिइएको थियो। सरकारी, गैरसरकारी, निजी क्षेत्र र विश्वविद्यालयका १५ जना महिला प्रशिक्षार्थीहरूले तालिमबाट लाभ लिएका छन्।
समापन सत्रमा इमि, सोहम, सेन र युनिभर्सल कलेजका प्रतिनिधिहरूले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त सीप अनुसन्धान र थेसिस लेखनमा उपयोगी हुने बताए। इमिका हिम जलविज्ञ सौरम प्राधानाङ्गले तालिमको निरन्तर प्रयोगबाट क्षमता अभिवृद्धि हुने बताए।