सल्लाघारीस्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलमा शैक्षिक मेला सम्पन्न भएको छ। मेलामा गणित, कला, विज्ञान, स्वास्थ्य, जनसंख्या, स्थानीय संस्कृति, साहित्य, भाषा, सामाजिक रीतिरिवाज जस्ता अन्य थुप्रै विषयगत परियोजनाहरूको प्रदर्शनी गरिएको थियो।
प्री-प्राइमरी तहदेखि माध्यमिक तहसम्मको कक्षागत विषयसँग सम्बन्धित भएर करिब २०० भन्दा बढी परियोजनाहरूलाई प्रदर्शनीमा राखिएको थियो। विद्यालयका प्रधानाध्यापक रवि दुवालले विद्यार्थीहरूले वर्षभरि सिकेका ज्ञानलाई प्रोजेक्टका रूपमा प्रस्तुत गर्न यो शैक्षिक मेला आयोजना गरिएको जानकारी दिए।
विगतको तुलनामा यसपटकको मेलामा भएको तयारी र विद्यार्थी अवलोकनकर्ताको अन्तरक्रियात्मक सहभागिताले आफुहरु उत्साहित भएकोले आगामि दिनमा थप मेला आयोजना गर्न उर्जा मिलेको आयोजक समितिका संयोजक मनिता नेपालले बताए। मेलाको संन्देश समस्त विधार्थी र अविभावक समक्ष सकारात्मक रुपमा पुगेको बताउँदै मेलामा सहभागी अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थीतिले समेत सो कुरा प्रमाणित गरेको प्रधानाध्यापक दुवालले बताए ।
विद्यार्थीहरुले तयार पारेका परियोजनाहरुमा उनीहरूको लगनशीलता, माया र विषयगत शिक्षकहरूको समेत ठूलो मार्गनिर्देशन रहेको स्पष्ट देखिन्थ्यो। अवलोकनकर्ताहरुको जिज्ञासाहरुलाई ससाना सहभागी नानीबाबुहरुले समेत बडो सुन्दर, आत्मविश्वासी भएर र विषयको परिधिमा रहेर व्याख्या गरेका थिए। प्रयोगात्मक सिकाइलाई प्रवर्द्धन गर्न र ज्ञानलाई अझै प्रभावकारीका साथै रोचक बनाउन यस मेलाले अहम् भूमिका बहन गरेको छ। जसमा विद्यार्थीहरूले पाठ्यपुस्तक बाहिरका नयाँ विचारहरू, परियोजनाहरू र प्रयोगहरू प्रस्तुत गरेका थिए।
जीवनोपयोगी सीपहरू विकास गर्न, विद्यार्थीहरूलाई प्रस्तुति दिन, आत्मविश्वास बढाउन र टीमवर्क गर्न प्रेरित गर्न र अनुसन्धान, समस्या समाधान, र विश्लेषणात्मक सोचलाई समेत प्रवर्द्धन गर्ने खालका प्रोजेक्ट तयार पारिएको सो मेला सफल पार्न सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक-शिक्षिका र अभिभावकहरुप्रति प्रिन्सिपल रवि दुवालले आभार प्रकट गरेका थिए।