ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्रिय परीक्षा बोर्डको निर्णय: कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि

Gyan Khabar

ज्ञानखबर

मङ्ल, बैशाख ९, २०८२
1578 पटक हेरिएको
राष्ट्रिय परीक्षा बोर्डको निर्णय: कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षा मिति परिवर्तन गरेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले मंगलबार साँझ बसेको बैठकले परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।

विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौंमा जारी राखेको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको थियो। यसै कारणले पूर्वनिर्धारित समयमा परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको थियो। बोर्डले यसअघि निर्धारित समयमै परीक्षा गर्ने अडान लिएको भएता पनि, अन्ततः परीक्षाको मिति परिवर्तन भएको हो।

यसअघि शिक्षकहरूले परीक्षामा सहभागी नहुने बताएपछि बोर्डले निजामती कर्मचारीहरूलाई परिचालन गरी परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। तर, कर्मचारी ट्रेड युनियनले शिक्षकहरूको माग सम्बोधन गरी उनीहरूलाई नै परीक्षामा सहभागी गराउनुपर्ने माग राख्दै विरोध जनाएका थिए। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बोर्डलाई परीक्षाको मिति सार्न आग्रह गरेका थिए।

अध्यक्ष शर्माले सबै विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवाला निकायलाई नयाँ परीक्षा तालिका अनुसार तयारी गर्न आग्रह गरे। बोर्डले छिट्टै नै संशोधित परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको छ।

यस निर्णयले परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई केही राहत मिलेको महसुस भएको छ। अब उनीहरूले थप समय पाएका छन् र परीक्षाको लागि अझ राम्रो तयारी गर्न सक्नेछन्।