वागीश्वरी कलेज, तुमचो कमलविनायकले शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम सुरु गरेको छ। तालिमको पहिलो दिन ‘Managing Better Self Through Self Awareness and Interpersonal Relationship’ विषयमा केन्द्रित थियो।
उद्घाटन समारोहका प्रमुख अतिथि, नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले व्यक्तिको विचार नै व्यक्तित्वको आधार भएको बताउँदै तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। वर्तमान राजनीतिक परिदृश्यमा सुझबुझको अभाव देखिएको चर्चा गर्दै गोसाईले विद्यालय र कलेज सिक्ने थलो मात्र नभई व्यक्तित्व विकासको केन्द्र हुनुपर्नेमा जोड दिए।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित तालिमको उद्घाटन सत्रमा कलेज व्यवस्थापन समितिका सदस्य एवं वडाध्यक्ष रवीन्द्र ज्याख्वले कलेजले सीप विकासका लागि निरन्तर तालिम दिइरहेको बताए। वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा मानविकी सङ्कायका इन्चार्ज राजन फेलु र शिक्षक विकल प्रजापतिले पनि आफ्ना विचार राखेका थिए।
कुल ३५ जना सहभागी तालिममा उत्तम आचार्य र विनोदकुमार विष्टले प्रशिक्षण दिइरहेका छन्। यो तालिमले सहभागीहरूको आत्मज्ञान र अन्तरव्यक्तिगत सम्बन्ध सुधारमा सहयोग पुग्ने विश्वास लिइएको छ।