तारकेश्वर नगरपालिकास्थित शुभकामना इङलिस बोर्डिङ स्कुलले यस वर्षको सरस्वती पूजाको अवसरमा ऐतिहासिक सफलता हात पारेको छ। माघ ९ गते आयोजित विशेष उत्सवका बीच विद्यालयले पिजी (PG) र अन्य कक्षाहरूमा गरी १०० भन्दा बढी नयाँ विद्यार्थीहरू भर्ना गर्न सफल भएको छ। विद्यालयका प्रिन्सिपल कुमार ढकालका अनुसार, न्यूनतम शुल्कमा सर्वोत्कृष्ट शिक्षा प्रदान गर्ने विद्यालयको नीतिका कारण अभिभावकहरूको विश्वास बढेको हो।
शुभकामना स्कुल तारकेश्वर नगरपालिकाकै पहिलो उत्कृष्ट नतिजा दिने विद्यालयका रूपमा स्थापित छ। शैक्षिक वर्ष २०८१ को एसईई (SEE) परीक्षामा विद्यालयका २५ जना विद्यार्थी सहभागी भएकोमा ७ जनाले ‘४ जीपीए’ ल्याएर तहल्का मच्चाएका थिए। जसमा ५ जना छात्रा र २ जना छात्र रहेका छन्। समग्रमा विद्यालयको औसत नतिजा ३.९२ जीपीए रहेको थियो, जुन आफैँमा एक ठुलो उपलब्धि हो।
यो विद्यालय शैक्षिक रूपमा मात्र नभई खेलकुदमा पनि उत्तिकै अब्बल छ। अन्तर्राष्ट्रिय कराते स्वर्ण पदक विजेता खेलाडी एरिका गुरुङ यसै विद्यालयकी पूर्व विद्यार्थी हुनुहुन्छ। हालै भारतको गुजरातमा सम्पन्न २१औँ WKI अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा समेत यस विद्यालयका विद्यार्थीहरूले ऐतिहासिक सफलता प्राप्त गरी देशको नाम उच्च राखेका छन्।

सरस्वती पूजाको दिन विद्यालयले पूजाआजा र प्रसाद वितरण पश्चात पन्चेबाजा र ब्यानरसहितको भव्य र्याली आयोजना गरेको थियो। विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि समेत सहयोग गर्दै आएको छ।
प्राचार्य कुमार ढकाल र निर्देशक कृष्ण अधिकारी जस्ता अनुभवी शैक्षिक व्यक्तित्वहरूको नेतृत्वमा रहेको यस विद्यालयले पिजीदेखि कक्षा १० सम्म उत्कृष्ट प्रशिक्षकहरूद्वारा इसिए (ECA) र सिसिए (CCA) कक्षाहरू सञ्चालन गर्दै आएको छ।