ताजा अपडेट

ट्रेन्डिङ

मिस एयरहोस्टेस इन्टरनेशनलको उपाधि रितिका सुनारलाई, यती एयरलाइन्समा पाइन् रोजगारी

Gyan Khabar

ज्ञानखबर

बुध, माघ १४, २०८२
343 पटक हेरिएको
मिस एयरहोस्टेस इन्टरनेशनलको उपाधि रितिका सुनारलाई, यती एयरलाइन्समा पाइन् रोजगारी

काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार आयोजित एक भव्य समारोहका बीच ‘मिस एयरहोस्टेस इन्टरनेशनल’ सिजन ३ को अन्तिम प्रतिस्पर्धा १२ माघ २०८२, सोमबार भव्य रूपमा सम्पन्न भएको छ। नाट एभिएसन एकेडेमी (NAAT Aviation Academy) द्वारा आयोजित र यती एयरलाइन्सले मुख्य प्रायोजन गरेको यस प्रतिस्पर्धाले उड्डयन क्षेत्रमा भविष्य खोजिरहेका युवतीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गरेको थियो।

यस वर्षको प्रतिष्ठित उपाधि रितिका सुनारले आफ्नो पोल्टामा पार्न सफल भएकी छिन्। उनले सिजन ३ को मुख्य ताजसँगै ‘मोस्ट ट्यालेन्ट’ विधामा पनि आफूलाई सर्वोत्कृष्ट सावित गरिन्। यस जितसँगै रितिकाले यती एयरलाइन्समा केबिन क्रु (एयरहोस्टेस) को रूपमा स्थायी रोजगारीको विशेष अवसर प्राप्त गरेकी छिन्, जुन यस प्रतियोगिताको मुख्य आकर्षण थियो। रितिकालाई पछ्याउँदै शर्मिला कुमारी कक्षपतिले प्रथम उपविजेताको स्थान सुरक्षित गर्दै ‘सर्वोत्कृष्ट व्यक्तित्व’ अवार्ड जितिन् भने एस्थर मटेले दोस्रो उपविजेता बन्दै ‘दर्शक छनोट’ र ‘सर्वोत्कृष्ट क्याटवाक’ को उपाधि हात पारिन्।

प्रतिस्पर्धामा अन्य प्रतिभाशाली युवतीहरूले पनि विधागत उपाधिहरू प्राप्त गरे। रितु चौधरीले ‘सर्वाधिक लोकप्रिय’ र ‘मल्टिमिडिया छनोट’ गरी दुईवटा विधामा आफ्नो दबदबा कायम गरिन्। त्यसैगरी सुजाता जमकटेलले ‘सर्वोत्कृष्ट शारीरिक बनावट’ र परिमा गुरुङले ‘सर्वोत्कृष्ट फोटोजेनिक’ को अवार्ड हासिल गर्दै कार्यक्रमको गरिमा बढाएका थिए।

20260128 115531

सहभागीहरूलाई व्यावसायिक रूपमा निपुण बनाउन फेसन कोरियोग्राफर तथा पर्सनालिटी ट्रेनर लभिन अन्सारीले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षणका क्रममा प्रतियोगीहरूले केबिन क्रु पेसाका लागि आवश्यक पर्ने शिष्टाचार, प्रस्तुति कला, ग्रुमिङ र व्यावसायिक व्यक्तित्व विकासका विषयमा सघन ज्ञान प्राप्त गरेका थिए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रमको निर्णायक मण्डलमा अनुभवी व्यक्तित्वहरूको सहभागिता थियो। निर्णायकका रूपमा मिस्टर नेपाल २०२३ तथा बुद्ध एयरका पाइलट समर्पण जंग कार्की, एतिहाद एयरवेजकी अन्तर्राष्ट्रिय केबिन क्रु ईभा जैसवाल, मनोवैज्ञानिक अनिता खड्का र यती एयरलाइन्सकी प्रमुख केबिन क्रु रचना सुनारले निष्पक्ष मूल्याङ्कन गर्नुभएको थियो। उड्डयन र ग्ल्यामरको यो संगमले नेपाली हवाई क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनमा नयाँ आयाम थपेको आयोजकको विश्वास छ।