भक्तपुरको शैक्षिक क्षेत्रमा विद्यार्थीहरूको तार्किक क्षमता र वाककला प्रस्फुटन गर्ने उद्देश्यले नेसनल प्याब्सन भक्तपुरको आयोजना र ग्लीटर फ्युचर स्कुलको संयोजनमा अन्तर-विद्यालय वादविवाद प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। फागुन २९ गते शुक्रबार आयोजित यस प्रतिस्पर्धामा भक्तपुरका विभिन्न विद्यालयका कक्षा ६ र ७ का विद्यार्थीहरूले आफ्नो अद्वितीय प्रतिभा, आत्मविश्वास र विषयगत ज्ञानलाई वाककलाको माध्यमबाट सशक्त रूपमा प्रस्तुत गरेका थिए।
प्रतियोगिताको कक्षा ७ को श्रेणीमा मदरल्याण्ड स्कुलकी समृद्धि कपालीले उत्कृष्ट तर्क प्रस्तुत गर्दै विजेताको उपाधि चुम्न सफल भइन्। प्रतिस्पर्धामा बिमल मेमोरियल स्कुलकी प्रविधी खड्का पहिलो उपविजेता, आरक्षण नेसनल स्कुलकी इशानी पुरी दोस्रो उपविजेता र संस्कार गुरुकुल स्कुलकी आयुषा पराजुली तेस्रो उपविजेता बन्न सफल भएका थिए। विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रतिस्पर्धी र रोचक बनाएको थियो।
त्यसैगरी कक्षा ६ तर्फको प्रतिस्पर्धामा पाथिभरा स्कुलकी प्रत्युषा श्रेष्ठले प्रथम स्थान हासिल गर्दै विजेताको ट्रफी हात पारिन्। यस श्रेणीमा बिमल मेमोरियल स्कुलकी प्रिन्शा देउजा पहिलो उपविजेता, आरक्षण नेसनल स्कुलकी युनिषा खत्री दोस्रो उपविजेता र संस्कार गुरुकुल स्कुलका ऋषभ अधिकारी तेस्रो उपविजेता घोषित भए। ससाना विद्यार्थीहरूले देखाएको तर्क गर्ने शैली र आत्मविश्वासले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो।

कार्यक्रमको सभापतित्व आयोजक विद्यालय ग्लीटर फ्युचर स्कुलका प्रिन्सिपल एवं नेसनल प्याब्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखोले गर्नुभएको थियो। समारोहका प्रमुख अतिथि नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। कार्यक्रमको सफलताबारे जानकारी दिँदै आयोजक विद्यालयका सह-प्रिन्सिपल जिवेश सिटिखुले यस्ता प्रतियोगिताले विद्यार्थीको व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।