ताजा अपडेट

ट्रेन्डिङ

दक्षिणकालीमा चार स्रष्टा सम्मानित, ‘हाम्रो लघुकथा’ सङ्ग्रह लोकार्पण

Gyan Khabar

ज्ञानखबर

शनि, बैशाख १९, २०८३
18 पटक हेरिएको
दक्षिणकालीमा चार स्रष्टा सम्मानित, ‘हाम्रो लघुकथा’ सङ्ग्रह लोकार्पण

हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली–३ ले एक भव्य समारोहका बीच नेपाली साहित्यका चार विशिष्ट स्रष्टालाई सम्मान गरेको छ। दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लघुकथा र समालोचना क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई नगद पुरस्कारसहित सम्मान गरियो।

साहित्यकार किशोर पहाडीको संयोजकत्वमा गठित समितिले चयन गरेअनुसार महेश प्रसाईंलाई ११,१११ रुपैयाँ राशिको ‘केन्द्र लघुकथा सम्मान’ र प्राडा कपिल लामिछानेलाई सोही राशिको ‘केन्द्र समालोचना सम्मान–२०८२’ प्रदान गरियो। त्यसैगरी, गङ्गा कर्माचार्य पौडेललाई ‘केन्द्र लघुकथा नारी सम्मान’ र रमेन्द्र कोइरालालाई ‘योगनाथ बास्तोला लघुकथा सम्मान’ बाट विभूषित गरियो, जसको पुरस्कार राशि जनही ५,५५५ रुपैयाँ रहेको थियो।

सोही अवसरमा केन्द्रका आजीवन सदस्य र विद्यार्थीहरूको रचना समेटिएको ‘हाम्रो लघुकथा’ संयुक्त लघुकथासङ्ग्रहको सामूहिक लोकार्पण समेत गरियो। कार्यक्रममा नगर प्रमुख मोहन बस्नेत र उपप्रमुख वसन्ती तामाङ डङ्गोलले दक्षिणकालीलाई पर्यटकीय र साहित्यिक हब बनाउने प्रतिबद्धता व्यक्त गर्दै ‘दक्षिणकाली प्रज्ञा प्रतिष्ठान’ को कार्य अगाडि बढेको जानकारी दिनुभयो। साहित्यकार कृष्ण प्रधानले नगरको प्राकृतिक सुन्दरतालाई सदुपयोग गर्दै ‘साहित्य कुटी’ निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

गणेश गुठीको धिमे बाजा र गुरुकुलका विद्यार्थीहरूको स्वस्ति वाचनबाट सुरु भएको उक्त समारोहमा पहिलो लघुकथाकार सिद्धिचरण श्रेष्ठको तस्बिरमा माल्यार्पण गरिएको थियो। केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठको अध्यक्षता र सचिव रामराजा केसीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा ९१ जना साहित्यकार तथा स्थानीय महानुभावहरूको उत्साहजनक उपस्थिति रहेको थियो।