ताजा अपडेट

ट्रेन्डिङ

क्रिसमस गिफ्ट दिने भन्दै नेपाल टेलिकमको नाममा ठगी धन्दा, सतर्क रहन आग्रह

Gyan Khabar

ज्ञानखबर

बुध, पुस ३, २०८१
467 पटक हेरिएको
क्रिसमस गिफ्ट दिने भन्दै नेपाल टेलिकमको नाममा ठगी धन्दा, सतर्क रहन आग्रह

नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । ‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो ।

सञ्जालमा फैलिरहेको स्पामको डोमेन नेम पनि अर्कै रहेको छ । सुरक्षित तरिकाले लिङ्क खोलेर हेर्दा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ । यससँगै विश्वासिलो अफर देखाउन अन्य प्रयोगकर्ताले पुरस्कार पाएको भनेर लेखिएको छ ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कम्पनीले अहिले कुनै पनि प्रकारको क्रिसमस योजना ल्याएको छैन । टेलिकमका योजना र अफरबारे जानकारी लिन कम्पनीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट तथा वेबसाइटको सहयोग लिन उनले अनुरोध गरे ।

साइबर सुरक्षा विज्ञका अनुसार यस्ता लिङ्कहरूमा मालवेयर वा भाइरस हुने सम्भावना धेरै हुन्छ । यदि लिङ्कमा क्लिक गरियो भने ह्याकरले तपाईँको बैंक खाता, पासवर्डलगायतका संवेदनशील विवरणहरू चोरी गर्न सक्छन् ।

यसबाट बच्न शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्, आधिकारिक डोमेन मात्र प्रयोग गर्नुहोस् र नचिनेको अफरहरूबाट सतर्क रहनुहोस्, नि:शुल्क पाइन्छ वा सस्तोमा धेरै पाइन्छ भन्ने लोभमा परेर आफ्नो व्यक्तिगत जानकारी कसैलाई पनि नदिनुहोस् ।

Lj8beI3g