सुर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरमा अवस्थित मदरल्याण्ड स्कुलले करिब ३७८ जना अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाका उप प्रमुख सरिता तिमिल्सिना भट्टाराईले अभिभावक अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मदरल्याण्ड स्कुलमा प्रि-स्कुलको लागि पूर्ण रुपमा “बुक फ्रि” गरेकोमा प्रसंशा गरेका थिए ।

सुर्यविनायक नगरपालिकाले पनि मानवीय विकासमा जोड दिएको र त्यसमा पनि शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै मदरल्याण्ड स्कुलका अभिभावकहरुलाई स्कुलले गरेको कार्यक्रमको लागि बधाई दिनुका साथै सबै अभिभावकले हरेक दिन बालबालिकाहरुको लागि कम्तिमा १ देखि २ घण्टा उनीहरुको कुरा सुन्ने र भावना बुझ्ने गर्नु पर्दछ भनि सुझाव व्यक्त गरेका थिए ।
उक्त अभिमुखीकरण कार्यक्रममा प्रमुख वक्ता प्रसिद्ध उत्प्रेरक विकास देव योन्जनले अभिभावकहरुले जे गर्छन् त्यहि कुरा बच्चाहरुले सजिल्यै सिक्छन् त्यसकारण आफ्नो बालबालिकाहरु भविष्यमा के बनुन् भन्ने सोच्नु भएको छ त्यसको लागि अहिले बिऊ रोपे पछि मलजल, गोडमेल, हेरचाह तथा सुरक्षा प्रदान गरेमा अवश्य राम्रो फल प्राप्त हुन्छ, त्यसरी नै अभिभावकले असल अभिभावकत्व निभाउनु भएमा मात्र बालबालिकाहरुको भविष्य उज्ज्वल रहने बताए ।
मन्टेश्वरी एवं ईसिडी प्रशिक्षक तथा कल्पवृक्ष एडुकेशन फाउन्डेशनकी डाइरेक्टर प्रतिक्षा गौतमले मदरल्याण्ड स्कुलले शैक्षिक वर्ष २०८१ देखि प्रि स्कुलमा पूर्ण रुपमा पाठ्यपुस्तक विना सिकाई क्रियाकलाप गर्दै आएको र यसमा आफूले कन्सलटेन्टको भूमिकामा आवद्ध हुन पाएकोमा स्कुल परिवार प्रति आभार व्यक्त गर्दै आगामि वर्ष २०८२ पनि मदरल्याण्ड स्कुलसँग सहकार्य गर्ने बताए।

मदरल्याण्ड स्कूलका कार्यकारी संचालक शर्मिला देउजाको सभापतित्वमा सेराटन वैंक्वेट, जगातिमा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रममा स्कुलका प्रिन्सिपल संजय खड्काले अभिभावकले बच्चालाई पढपढ मात्र भनेर दवाव दिने, ३-४ वर्षका कलिला बालबालिका स्कुल जान थालेपछि नै लेख्न र पढ्न सक्नु पर्ने जस्ता सोच हटाउनु पर्ने, क्षमता भन्दा बढी भारी बोकाउनुभन्दा सीप र व्यवहार सिकाउँदै ईसिडीबाट कक्षा १ का लागि तयारी गराउनु पर्ने बताए ।

प्रिन्सिपल खड्काले ६ वर्ष मूनिका बालबालिकाहरुलाई विहान ६-७ बजे देखि नै स्कुल पठाउन नहुने, अभिभावकले विहान बेलुकीको खाना सकेसम्म परिवारसँगै खाने जसले गर्दा पारिवारिक स्नेह र महत्वले भविष्यमा आफ्ना छोराछोरीले आमाबुबालाई साथ नछोड्ने जस्ता संवेदनशील पक्षहरुको चर्चा गरेका थिए ।
