मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको गरुडा–शिवनगरमा मापदण्डविपरीत सञ्चालित १० निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन्।
बिहीबार साँझ गरिएको आकस्मिक निरीक्षणमा मापदण्ड पूरा नगरेका अस्पतालहरू बन्द गर्न निर्देशन दिइएको हो। आनन्द अस्पताल, अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल, नेत्र ज्योति, होप हस्पिटललगायत बन्द गर्न निर्देशन दिइएको छ।
नियमविपरीत सञ्चालित अस्पताल बन्द गर्न र मापदण्ड पूरा गरेपछि मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ। मापदण्ड पूरा नगरी सञ्चालन गरे कारबाही गर्ने चेतावनी पनि दिइएको छ।
निरीक्षणको खबर पाएपछि धेरै सञ्चालक फरार भएका थिए।
अवैध अस्पताल सञ्चालन गरी चर्को शुल्क लिने गरेको गुनासोका आधारमा निरीक्षण गरिएको मुख्यमन्त्रीले बताए। सरस्वती, सन सिटी, गरुडा, नेत्र ज्योति अस्पतालका सञ्चालक फरार भए पनि बन्द गर्न निर्देशन दिइएको छ। आनन्द अस्पतालका सञ्चालक पनि फरार भएका थिए।
आनन्द अस्पतालले २५ शैयाको अनुमति लिएर ६० भन्दा बढी शैया राखेको र अन्य मापदण्ड पनि पूरा नगरेको पाइएको छ। गरुडा नगरपालिकालाई पनि कारबाही हुने बताइएको छ।
रौतहटमा मापदण्डविपरीत अस्पताल सञ्चालन गर्ने क्रम बढेको छ। गौर चन्दरनिगाहपुर सडकखण्डमा पनि धेरै दर्ता नभएका अस्पताल सञ्चालनमा छन्। यसअघि चन्द्रनिगाहपुरमा पनि १० अस्पताल बन्द गर्न निर्देशन दिइएको थियो।