शिक्षा, सभ्यता र संस्कृतिको संगमस्थल मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन इङ्ग्लिस स्कुलले अन्तर्राष्ट्रिय स्तरमा अर्को स्वर्णिम सफलता हात पारेको छ। ‘स्कुल इन्टरप्राइजेज च्यालेन्ज’ (SECCA) कार्यक्रम अन्तर्गत विश्वभरका हजारौं विद्यालयलाई पछि पार्दै विनायकले स्वर्ण पदक जितेको हो।
‘टिचिङ अ म्यान टु फिस’ नामक अन्तर्राष्ट्रिय संस्थाद्वारा आयोजित यो प्रतियोगितामा विनायकको ‘गुड फुड, गुड मुड’ समूहले प्रस्तुत गरेको व्यावसायिक योजना, विविध कार्यक्रम र आत्मनिर्भरता सम्बन्धी ज्ञानको उच्च मूल्याङ्कन भएको थियो। विद्यालयले विद्यार्थीहरूलाई सानै उमेरदेखि उद्यमशीलता र व्यवहारिक ज्ञान प्रदान गर्ने प्रयासलाई यस सफलताले थप प्रमाणित गरेको छ।
विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिका अनुसार, विनायकले विगत पाँच वर्षदेखि यस्ता कार्यक्रमहरूमा भाग लिँदै आएको छ। यसअघि कास्य र रजत पदक जितेको विनायकले यसपटक विद्यार्थी र शिक्षकहरूको अथक प्रयासले स्वर्ण पदक जित्न सफल भएको हो।
प्रिन्सिपल प्रजापतिले भने, “हामीले विद्यार्थीहरूलाई सानैदेखि सिपमूलक शिक्षा प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेका छौं। यो स्वर्ण पदक हाम्रो निरन्तरको प्रयासको परिणाम हो।”
विनायकको यो सफलताले भक्तपुरको शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेको छ। अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त यो उपलब्धिले विद्यालयलाई थप उत्साहित बनाएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएको छ।
