भक्तपुरको शैक्षिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम-२०८१” भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा करिब ५६३ जना अभिभावकको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री माननीय किरण थापामगरले मदरल्याण्ड स्कुलले विद्यार्थीहरूको चौतर्फी विकासका लागि गर्दै आएका उत्कृष्ट कार्यक्रमहरूको प्रशंसा गरे। उहाँले विद्यालयको २० वर्षे यात्रामा गरिएको अथक प्रयासले मदरल्याण्डलाई उत्कृष्ट विद्यालयको रूपमा स्थापित गरेको बताउँदै शैक्षिक वर्ष २०८१ मा विभिन्न विधामा सर्वोत्कृष्ट विद्यार्थीहरूलाई बधाई ज्ञापन गरे।
सूर्यविनायक नगरपालिका वडा नं ७ का अध्यक्ष, नगर प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले मदरल्याण्ड स्कुलले पढाइका साथसाथै विद्यार्थीहरूको क्षमता विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालय दुवैको शैक्षिक गुणस्तर सुधारका लागि काम गरिरहेको जानकारी दिए। वडा नं ८ का वडाध्यक्ष पुष्पराज वस्नेतले विद्यालयका गतिविधि र विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि गरिएका प्रयासहरूले विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेशनल प्याव्सन भक्तपुरका सल्लाहकार एवं ईप्सन अध्यक्ष जिबी खड्का, सल्लाहकार विक्रम ढुकुछु, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, नेसनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापा लगायतले विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्दै मदरल्याण्ड स्कुलको सफलताको कामना गरे।
कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा. रविन कटवालले शिक्षाको महत्वबारे प्रकाश पार्दै अभिभावक र विद्यार्थीहरूलाई उत्प्रेरणा प्रदान गरे। कल्पवृक्ष एडुकेशनकी डाइरेक्टर एवं मदरल्याण्ड स्कुलकी कन्सल्टेन्ट प्रतिक्षा गौतमले शिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै युकेजीका विद्यार्थीहरूलाई दीक्षित गरे। मिस एण्ड मास्टर लिटिल स्टार २०८१ सिजन २ का विजेता विद्यार्थीहरूलाई विद्यालयकी अफिसियल कोरियोग्राफर सुमी वानियाले छात्रवृत्ति प्रमाणपत्र प्रदान गरे।
विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै आगामी योजनाहरू बारे जानकारी गराए। उनले विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रका साथै अन्य विविध गतिविधिमा पनि सहभागी गराउनुपर्नेमा जोड दिए। प्रि-स्कुलमा पाठ्यपुस्तक निःशुल्क गरिएको, हेल्थ नर्सको व्यवस्था गरिएको, विद्यालयलाई प्रविधिसँग जोडिएको र विद्यार्थीको रुचि अनुसार खेलकुद तथा व्यक्तित्व विकासका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी उनले दिए। बालबालिकालाई समयसापेक्ष शिक्षा प्रदान गर्न र विभिन्न क्षमता प्रदर्शनमा मदरल्याण्ड स्कुलले छुट्टै पहिचान बनाएको उनको भनाई थियो।

कार्यक्रममा नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त गर्ने ५५ जना विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो। शैक्षिक वर्ष २०८१ मा विभिन्न विधामा उत्कृष्ट १३ विद्यार्थीहरूलाई पुरस्कृत गरियो। कक्षागत उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो भने प्रिस्कुलबाट माथिल्लो कक्षामा प्रवेश गर्ने सबै विद्यार्थीहरूलाई कक्षा स्तरोन्नति सम्मान प्रदान गरियो। यसका साथै प्रसिद्ध परामर्शदाता डा. रविन कटवाल, ईसिडी ट्रेनर प्रतिक्षा गौतम, नमस्ते टिभीका प्रबन्धक ऋषिकेश श्रेष्ठ र कोरियोग्राफर सुमि वानियालाई विद्यालयले प्रशंसा पत्र प्रदान गरेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्य, समसामयिक प्रस्तुति, गीत, नाटक र मार्सल आर्टको प्रदर्शन गरेर सबैलाई मोहित बनाएका थिए। विद्यालयकी संचालिका एक्ज्यूकेटिभ हेड शर्मिला देउजाले प्रमुख अतिथि, अतिथिहरू र पत्रकारहरूलाई मायाको चिनो प्रदान गर्नुभएको उक्त कार्यक्रम वरिष्ठ सञ्चारकर्मी तथा नृत्य निर्देशक ऋषिकेश श्रेष्ठले सञ्चालन गरेका थिए।

मदरल्याण्ड स्कुलको यो वार्षिकोत्सव कार्यक्रम विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने र उनीहरूलाई थप हौसला प्रदान गर्ने एक महत्वपूर्ण अवसर बनेको थियो।


#MotherlandSchool #Gyankhabar