ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरमा महिला उद्यमीहरूका लागि ई-कमर्स तालिम सुरु

Gyan Khabar

ज्ञानखबर

शुक्र, बैशाख १२, २०८२
1051 पटक हेरिएको
भक्तपुरमा महिला उद्यमीहरूका लागि ई-कमर्स तालिम सुरु

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा वैशाख १२ गते बिहीबारदेखि जिल्लाका महिला उद्यमीहरूका लागि लक्षित ई-कमर्स तालिमको शुभारम्भ भएको छ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयकी उद्योग सचिव बिनु बज्राचार्यले तालिमको उद्घाटन गर्दै यस किसिमको तालिम महिला उद्यमीहरूको व्यापार व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे। उनले सहभागी उद्यमीहरूलाई तालिममा सिकेका ज्ञान र सीपलाई आफ्नो व्यवसायको प्रवर्द्धनमा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गरे।

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत महिला उद्यमीहरूलाई डिजिटल व्यापारको क्षेत्रमा सक्षम बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको जानकारी दिए।

भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले प्रविधिको युगमा ई-कमर्सको ज्ञान अपरिहार्य रहेको बताउँदै तालिमलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यवहारमा पनि उतार्न आग्रह गरे। उनले प्रविधिको अधिकतम उपयोग गरी आफ्नो व्यवसायलाई थप प्रतिस्पर्धी र विकासोन्मुख बनाउनुपर्नेमा जोड दिए।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको साना तथा मझौला उद्योग समितिकी सभापति लक्ष्मी खनालले महिला उद्यमीहरूका लागि यो तालिम अत्यन्तै फलदायी हुने विश्वास व्यक्त गर्दै यसबाट पूर्ण लाभ उठाउन आग्रह गरे।

भक्तपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष विश्वराम दुवाल र कार्यसमिति सदस्य एवं तालिम तथा सीप विकास उपसमिति संयोजक पृथ्वीभक्त प्रजापतिले तालिमले महिला उद्यमीहरूको प्राविधिक दक्षता र क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

तालिममा सौरभ चालिसे र रोहण पौडेल प्रशिक्षकको रूपमा रहेका छन्, जसले सहभागीहरूलाई ई-कमर्स सम्बन्धी विभिन्न व्यावहारिक ज्ञान र सीप प्रदान गर्नेछन्। यो तालिम भक्तपुरका महिला उद्यमीहरूलाई डिजिटल बजारमा आफ्नो पहिचान बनाउन र व्यवसाय विस्तार गर्न एक महत्वपूर्ण अवसर हुने विश्वास लिइएको छ।

IMG 2436d484e0fcd65977fc526067828bab V