किकम्पा मन्टेसरी प्रि-स्कूलमा २५६९ औं बुद्ध जयन्तीको पावन अवसर पारेर मुठ्ठीदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। वैशाख ३१ गते बुधबार आयोजित यो कार्यक्रम बुद्धको जन्म, वोधिज्ञान प्राप्त र महानिर्वाण त्रिसंयोगयुक्त दिनको स्मरणमा मुनि विहार भक्तपुरका भिक्षु तथा श्रवणेरहरूको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष देव चन्द्र वज्राचार्यले साना बालबालिकाहरूलाई सानैदेखि दान दिने र सेवा गर्ने भावनाको विकास गर्नुपर्ने कुरामा जोड दिए। उनले परिवारप्रति सकारात्मक सोच राख्नुपर्ने पनि बताए।
स्कूलका प्रिन्सिपल राजेश लाखाले बालबालिकाहरूको शारीरिक तथा बौद्धिक विकासका लागि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको जानकारी गराए। साथै, विद्यालयमा ध्यान, नैतिक शिक्षा र ज्ञानगुणका शिक्षाहरू पनि समय-समयमा सञ्चालन भइरहेको उहाँले बताए।
मुनि विहारबाट आएका भिक्षुज्यूले विद्यार्थीहरूलाई बस्ने तरिका, अनुशासनमा रहने तरिका र दैनिक जीवनमा पञ्चशीलका कुराहरूलाई ध्यान दिनुपर्ने शिक्षा प्रदान गरेका थिए।
उक्त मुठ्ठीदान कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरू, विद्यालयका कर्मचारीहरू र अभिभावकहरूले आफूले घरबाट ल्याएको नगद, भौतिक सामग्री र खाद्य सामग्रीहरू दान गरेका थिए। विद्यालयकी शिक्षिका सरिता तमखुले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थियो।

किकम्पा मन्टेसरीले आयोजना गरेको यो मुट्ठिदान कार्यक्रमले विद्यार्थीहरूलाई दानको महत्व बुझाउनुका साथै धार्मिक तथा सामाजिक मूल्य-मान्यताहरूप्रति पनि परिचित गराएको छ।