सूर्यविनायक-३, बालकोटस्थित इडेन गार्डेन इङ्लिस स्कुलले शैक्षिक सत्र २०८२ को नवप्रवेशी विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका सह-प्रधानाध्यापक अनिश राईले कार्यक्रमको अध्यक्षता भएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य सुमन थापाको प्रमुख आतिथ्यमा भएको थियो।
नयाँ र पुराना विद्यार्थीहरूले विद्यालयको सुन्दर भौतिक पूर्वाधार, शान्त वातावरण, उत्कृष्ट शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप र व्यवहारिक शिक्षाको खुलेर प्रशंसा गरेका थिए। यस शैक्षिक सत्रमा विद्यालयले बाल कक्षा (एल.के.जी) देखि कक्षा १० सम्म १४१ जना नयाँ विद्यार्थीहरू भर्ना भएका थिए।
सह-प्रधानाध्यापक अनिश राई, महेन्द्र चन्द, राजकुमार खड्का र वरिष्ठ शिक्षिका लक्ष्मी कासुलाले संयुक्त रूपमा नयाँ विद्यार्थीहरूलाई खादा र बुके प्रदान गरी स्वागत गर्नुभएको थियो। विद्यालयमा औपचारिक प्रवेश पाएर स्वागत कार्यक्रममा सहभागी हुन पाउँदा नवआगन्तुक विद्यार्थीहरू उत्साहित देखिएका थिए भने पुराना विद्यार्थीहरू पनि आफ्ना नयाँ साथीहरूको स्वागतमा खुसी थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अतिथि सुमन थापाले आफ्ना विचारहरू व्यक्त गर्दै विद्यार्थीहरूलाई बधाई दिए। उनले जीवनमा इमान्दारिता र अनुशासनलाई महत्व दिँदै सफलताको मार्गमा अघि बढ्न प्रेरित गरे।
सह-प्रधानाध्यापक अनिश राईले आगामी दिनमा विद्यालयले विद्यार्थीहरूको पठनपाठन, अतिरिक्त क्रियाकलाप र समग्र शैक्षिक विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। अर्का सह-प्रधानाध्यापक महेन्द्र चन्दले विद्यालयको शैक्षिक स्तरलाई थप उकास्दै लैजाने योजना प्रस्तुत गरे।
सोही अवसरमा सह-प्रधानाध्यापक अनिश राईले कक्षा ७ का विद्यार्थी श्रीजय महतलाई बधाई ज्ञापन गरे। श्रीजय नेपालको चर्चित रियालिटी शो ‘The Voice of Kids Season 4’ को छनोट चरण पार गरी ब्लाइन्ड अडिसनमा प्रवेश गर्न सफल भएका छन्।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन विद्यार्थीहरूले विभिन्न सांगीतिक र नृत्य प्रस्तुतिहरू दिएका थिए। विद्यार्थीहरूले सामूहिक स्वागत गीत प्रस्तुत गरे भने कक्षा ८ की छात्रा श्रीया न्यौपानेले एकल गायन प्रस्तुत गरेका थिए। यु.के.जी, कक्षा १, ३, ७, ८ र ९ का विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई सभ्य र भव्य बनाएका थिए।