दधिकोटको गाम्चास्थित अरनिको माध्यमिक विद्यालयले एसईई २०८१ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको छ।
सो विशेष कार्यक्रम विद्यालय कर्मचारी, शिक्षक, अभिभावक र स्थानीय समाजसेवीहरूको उपस्थितिमा सम्पन्न भएको हो।
विद्यालयका प्रधानाध्यापक महेन्द्र श्रेष्ठले विद्यार्थीहरूको सफलताको खुलेर प्रशंसा गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे। उनले विद्यार्थीहरूलाई अझ राम्रो गर्नका लागि हौसला प्रदान गर्दै आगामी दिनमा पनि यस्तै सफलता हासिल गर्न प्रेरित गरे।
यस वर्ष अरनिको मा.वि.बाट कुल ७६ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए, जसमध्ये १९ जनाले ३.६१ – ४ जीपीए हासिल गर्ने सहित ७५ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन।
यो उत्कृष्ट नतिजा शिक्षकहरूको अथक परिश्रम, अभिभावकहरूको निरन्तर सहयोग र विद्यार्थीहरूको लगनशीलताको संयुक्त प्रतिफल रहेको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रममा बोल्दै ४ नं. वडा अध्यक्ष लछुराम न्यौपानेज्यूले अरनिको मा.वि.लाई दधिकोट क्षेत्रकै नमुना विद्यालय बनाउनका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यसले विद्यालयलाई थप उत्साहित बनाएको छ।
विद्यालयले आगामी दिनमा पठनपाठनको गुणस्तरलाई अझ उचाइमा पुर्याउने र विद्यार्थीहरूलाई अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।