ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुर पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित

Gyan Khabar

ज्ञानखबर

शनि, असार २८, २०८२
210 पटक हेरिएको
भक्तपुर पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित

भक्तपुर जिल्लालाई आज एक विशेष कार्यक्रमका बीच “पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला” घोषणा गरिएको छ। जिल्ला समन्वय समितिले आयोजना गरेको यस घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरलाई पूर्ण खोप सुनिश्चित जिल्लाको रूपमा औपचारिक घोषणा गरेको हो।

यो घोषणासँगै बागमती प्रदेशका कुल १० जिल्लाहरू पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित भइसकेका छन्। मन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। यसअघि भक्तपुर, सूर्यविनायक, मध्यपुर र चाँगुनारायण नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थापाले प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको सुदृढीकरणका लागि गरिरहेका प्रयासबारे जानकारी दिए। उनले भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हब बनाएर २४ सै घण्टा सेवा सञ्चालन गर्नेगरी व्यवस्था गरिएको र प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति, जनशक्ति थप तथा उपकरण वितरणलाई मन्त्रालयले प्रभावकारी रूपमा अगाडि बढाएको बताए।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले खोप सुनिश्चिततालाई दिगो बनाउनु चुनौतीपूर्ण रहेको बताउँदै कोही पनि खोपबाट छुट्न नहुनेमा जोड दिए। उनले खोप कार्यक्रमको प्रभावकारिताले बालमृत्युदरमा उल्लेख्य कमी आएको र नियमित खोप कार्यक्रमले ८० प्रतिशत बाल मृत्युदर घटाउन सफल भएको जानकारी दिए।

जन्मेदेखि १५ महिनासम्म खोप लगाएका बालबालिकाहरू (जो १६ महिनादेखि २३ महिनासम्म पुगेका छन्) को अध्ययन तथा अनुगमनपश्चात् भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। यस घोषणाले भक्तपुर जिल्लाको जनस्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको मानिएको छ।