ताजा अपडेट

ट्रेन्डिङ

ख्वप र युनिभर्सल मोडर्न कलेज तथा चीनको हेबेई विश्वविद्यालयबीच ऐतिहासिक शैक्षिक सम्झौता

Gyan Khabar

ज्ञानखबर

सोम, भदौ १६, २०८२
1067 पटक हेरिएको
ख्वप र युनिभर्सल मोडर्न कलेज तथा चीनको हेबेई विश्वविद्यालयबीच ऐतिहासिक शैक्षिक सम्झौता

शैक्षिक र सांस्कृतिक आदानप्रदानलाई थप बलियो बनाउने उद्देश्यका साथ भक्तपुरका दुई प्रतिष्ठित कलेज, ख्वप कलेज र युनिभर्सल मोडर्न कलेजले चीनको हेबेई आर्थिक तथा व्यापार विश्वविद्यालयसँग एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यो सम्झौताले नेपाल र चीनबीचको शैक्षिक सहकार्यमा नयाँ आयाम थपेको छ।

२०२५ अगस्ट २७ मा होटल भदगाउँमा आयोजित एक विशेष समारोहमा यो ऐतिहासिक सम्झौता सम्पन्न भयो। समारोहमा हेबेई विश्वविद्यालयका उपकुलपति प्रा. डा. वाङ छोङरुन, ख्वप कलेजका प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठ, र युनिभर्सल मोडर्न कलेजका प्रिन्सिपल अनिल कस्पालले औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो।

सो सम्झौताअनुसार ख्वप कलेजमा एक विशेष चिनियाँ भाषा तथा संस्कृति केन्द्र स्थापना हुनेछ। यस केन्द्रले चिनियाँ भाषा सिकाउने मात्र नभई, दुई देशका संस्कृतिबीच आदानप्रदान, कार्यशाला गोष्ठी र संयुक्त शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गर्नेछ। यसले विद्यार्थीहरूलाई दुवै देशको भाषा र संस्कृति बुझ्न मद्दत गर्नेछ।

युनिभर्सल मोडर्न कलेज र ख्वप कलेजले सन् २०२२ देखि नै काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको सहकार्यमा चिनियाँ भाषाका कक्षाहरू चलाउँदै आएका थिए। यो नयाँ सम्झौताले त्यही सहकार्यलाई अझ माथिल्लो स्तरमा पुर्‍याएको छ।

समारोहमा चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरूमा अन्तर्राष्ट्रिय विनिमय केन्द्रका निर्देशक प्रा. शाङ लीवेई, लेखाशास्त्र संकायका डिन प्रा. डा. ली सिवेन र प्रमुख ली लान्ताओ लगायत हुनुहुन्थ्यो। उहाँहरूलाई बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँसहित दुवै कलेजका प्रिन्सिपल र स्थानीय शिक्षकहरूले भव्य स्वागत गर्नुभएको थियो।

IMG 20250902 WA0001

कार्यक्रमको मुख्य आकर्षणमध्ये एक, चिनियाँ भाषा अध्यापनमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने शिक्षक प्रणय चित्रकारलाई विशेष सम्मान गरिएको थियो।

समझदारी पत्रमा हस्ताक्षरपछि चिनियाँ टोलीले युनिभर्सल मोडर्न कलेज, ख्वप कलेज र बाल विकास अंग्रेजी माध्यमिक विद्यालयको भ्रमण गरी त्यहाँको शैक्षिक वातावरण र भाषा कक्षाको अवस्थाबारे जानकारी लिए। भ्रमणपश्चात्, हेबेई विश्वविद्यालयका उपकुलपति प्रा. डा. वाङले नेपाली पक्षलाई धन्यवाद दिँदै यो सहकार्यलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

यो ऐतिहासिक साझेदारीले नेपाल र चीनबीचको शैक्षिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।