ताजा अपडेट

ट्रेन्डिङ

प्याब्सन बागमती प्रदेशको दोस्रो प्रदेश भेला सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, माघ २५, २०८२
194 पटक हेरिएको
प्याब्सन बागमती प्रदेशको दोस्रो प्रदेश भेला सम्पन्न

भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पृष्ठभूमिमा प्याब्सन बागमती प्रदेशको दोस्रो प्रदेश परिषद् भेला भव्य रूपमा सम्पन्न भएको छ।

बागमती प्रदेश अध्यक्ष श्री मुरारी सन्जेलको अध्यक्षतामा आयोजित यस गरिमामय कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष श्री कृष्ण अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। शिक्षा, संस्कृति र पहिचानलाई एकै ठाउँमा जोड्दै आयोजना गरिएको यस भेलाले निजी शिक्षा क्षेत्रको भविष्य र यसका चुनौतीहरूका बारेमा महत्वपूर्ण दिशा निर्देश गरेको छ।

20260208 122909

कार्यक्रमको सफल व्यवस्थापन र आयोजनामा प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष तथा सम्पूर्ण आयोजक टोलीको भूमिका अत्यन्तै उत्कृष्ट र प्रशंसनीय रह्यो। योजनाबद्ध तयारी र अनुशासित व्यवस्थापनका कारण कार्यक्रम निकै मर्यादित र उद्देश्यमूलक बनेको थियो। सहभागीहरूलाई भक्तपुरको सांस्कृतिक नगर परिक्रममा गराउनुका साथै संगीत र कलाका माध्यमबाट शिक्षा र संस्कृतिको अन्तरसम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो।

यस भेलामा बागमती प्रदेशका विभिन्न जिल्ला, नगरपालिका तथा विद्यालय तहका अध्यक्षहरू, शिक्षाविद् र विद्यालय सञ्चालकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले नेपालको शैक्षिक पहुँच विस्तार र गुणस्तर सुधारमा निजी क्षेत्रले निर्वाह गरेको अग्रणी भूमिकाको चर्चा गर्दै आगामी दिनमा प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे। निजी विद्यालयहरू राज्यको शिक्षा प्रणालीलाई बलियो बनाउने महत्वपूर्ण पूरक शक्ति हुन् भन्ने कुरामा सबै सरोकारवालाहरूले ऐक्यबद्धता जनाएका थिए।

FB IMG 1770533006352

भेलाको मुख्य निष्कर्षका रूपमा प्रदेश, जिल्ला र स्थानीय तहबीचको समन्वयलाई थप सुदृढ बनाउने र निजी शिक्षा क्षेत्रलाई अझ बढी उत्तरदायी तथा पारदर्शी बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। सामूहिक प्रयास, एकता र स्पष्ट उद्देश्यका साथ अघि बढेमा मात्र गुणस्तरीय शिक्षा मार्फत राष्ट्र निर्माणमा ठोस योगदान दिन सकिने विश्वास सहभागीहरूले राखेका छन्। शिक्षा क्षेत्रको समग्र सुदृढीकरणका लागि राज्य, समाज र निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्य अपरिहार्य रहेको सन्देश प्रवाह गर्दै यो ऐतिहासिक भेला सम्पन्न भएको छ।