ताजा अपडेट

ट्रेन्डिङ

पेट्सान कोशी प्रदेश भेला: ‘बिजनेस प्यान’ खारेजी र सामुदायिक सरहको मान्यता मुख्य एजेन्डा

Gyan Khabar

ज्ञानखबर

सोम, माघ २६, २०८२
92 पटक हेरिएको
पेट्सान कोशी प्रदेश भेला: ‘बिजनेस प्यान’ खारेजी र सामुदायिक सरहको मान्यता मुख्य एजेन्डा

सार्वजनिक शैक्षिक गुठीमार्फत सञ्चालित विद्यालयहरूको पहिचान, संरक्षण र नीतिगत समस्या समाधान गर्ने उद्देश्यका साथ सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (पेट्सान) कोशी प्रदेश भेला माघ २४ गते शनिबार इटहरीमा भव्य रूपमा सम्पन्न भएको छ। इटहरीस्थित होटल इनटुरिष्टको सभा हलमा आयोजित उक्त भेलाले सार्वजनिक शिक्षाका साझा चुनौतीहरूमाथि गहन मन्थन गर्दै नयाँ नेतृत्व समेत चयन गरेको छ।

भेलाले संगठन सुदृढीकरणका लागि जेसिस बाल सदन, विराटनगरका निर्देशक श्री सेवक बजगाईको अध्यक्षतामा ९ सदस्यीय पेट्सान कोशी प्रदेश समिति सर्वसम्मत रूपमा गठन गरेको छ। नवनिर्वाचित समितिले प्रदेशभरका सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूको हकहित र नीतिगत पैरवीका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

कोशी प्रदेशका १४ वटै जिल्लाबाट सहभागी ४० जना प्रतिनिधिहरूले विद्यालय सञ्चालनमा भोग्नुपरेका जटिलताबारे आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। विशेषगरी सहिद, निजामती, एसओएस र सैनिक विद्यालयका प्रतिनिधिहरूले मुनाफारहित संस्था भए पनि व्यावसायिक विद्यालयसरह कर लगाइएको र ‘बिजनेस प्यान’ लिन बाध्य पारिएको जस्ता गम्भीर समस्याहरू उठान गरेका थिए। यस विषयमा व्यापक छलफल गर्दै भेलाले सार्वजनिक शैक्षिक गुठीका विद्यालयहरूलाई सामुदायिक विद्यालयसरह मान्यता दिई बिजनेस प्यान खारेज गरी W-प्यान प्राप्त गर्न आन्तरिक राजस्व विभागमा विशेष पहल गर्ने निर्णय गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा विकास निर्देशनालय, धनकुटाका निर्देशक श्री कृष्ण प्रसाद पोख्रेल र विशिष्ट अतिथिका रूपमा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशका उपसचिव श्री यादव प्रसाद दुलाल रहनुभएको थियो। उहाँहरूले सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नीतिगत तहमा रहेका मागहरू सम्बोधन गर्न सकारात्मक सहयोग गर्ने आश्वासन दिनुभयो।

संघका राष्ट्रिय अध्यक्ष श्री जे. एस. पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासचिव श्री जगत बहादुर महर्जनले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्षद्वय श्री मेघराज दुलाल र श्री रमेश महर्जन, संरक्षक श्री रमेश मान महर्जन, कोषाध्यक्ष श्री जयराम गोर्खाली लगायतका पदाधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो। सार्वजनिक शिक्षा क्षेत्रका साझा आवाजलाई सशक्त बनाउने लक्ष्य राखेको यस भेलाले पेट्सान लाई थप संगठित र प्रभावकारी बनाउने विश्वास गरिएको छ।