ताजा अपडेट

ट्रेन्डिङ

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस: कपनमा ‘स्वबोध ज्ञान तथा ध्यान’ कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, फाल्गुन २५, २०८२
63 पटक हेरिएको
११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस: कपनमा ‘स्वबोध ज्ञान तथा ध्यान’ कार्यक्रम सम्पन्न

११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको पावन अवसरमा हातेमालो फाउन्डेसन, नारायणटारको आयोजनामा बुढानीलकण्ठ–१२ स्थित शीतल बाटिका प्रि–स्कुलमा ‘स्वबोध ज्ञान तथा ध्यान’ सम्बन्धी विशेष तालिम कार्यक्रम सम्पन्न भएको छ। “एक विश्व, एक आध्यात्मिक परिवार” भन्ने मूल मर्मका साथ आयोजित उक्त तीन घण्टे सत्रमा महिलाहरूलाई मानसिक शान्ति, आत्मचेतना र आध्यात्मिक जीवनशैलीबारे प्रशिक्षण दिइएको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसनका अध्यक्ष चन्द्रहरी कायस्थले नारी शक्तिको आध्यात्मिक महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः” र “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” जस्ता शास्त्रीय श्लोकहरू उद्धृत गर्दै समाज निर्माणमा महिलाको स्थान स्वर्गभन्दा उच्च रहेको बताउनुभयो। साथै उहाँले सृष्टि, समयको चक्र र विभिन्न युगका अवधारणाबारे चर्चा गर्दै जीवनोपयोगी २० प्रकारका तालिमका बारेमा समेत सहभागीलाई जानकारी गराउनुभयो।

फाउन्डेसनका संस्थापक सदस्यद्वय विनोद कुइकेल र कुमार बोगटीको विशेष संयोजनमा भएको यस कार्यक्रममा मानवीय सेवा नै वास्तविक धर्म भएको सन्देश प्रवाह गरिएको थियो। सोही अवसरमा विनोद कुइकेलले आफूलाई संस्थाको पूर्णकालीन आध्यात्मिक स्वयंसेवकका रूपमा समर्पित गर्ने घोषणा समेत गर्नुभयो। कार्यक्रममा शारीरिक स्वास्थ्य, आर्थिक समृद्धि र सामाजिक चेतनाका विषयहरूलाई दृश्य सामग्रीमार्फत रोचक ढंगले प्रस्तुत गरिएको थियो।

समारोहको अन्त्यमा शीतल बाटिका प्रि–स्कुलकी प्रिन्सिपल टप्पी बस्नेतले सहजकर्तालाई कदरपत्र र सहभागी महिलाहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। सहभागीहरूले यस प्रकारको आध्यात्मिक सत्रले मानसिक तनाव कम गर्न र सकारात्मक सोच विकास गर्न ऊर्जा प्रदान गरेको प्रतिक्रिया दिएका छन्।