ताजा अपडेट

ट्रेन्डिङ

‘स्वच्छ प्रशासनको सङ्कल्प’: देशभर सरसफाइ सप्ताह सुरु, भक्तपुर क्यान्सर अस्पतालमा विशेष अभियान

Gyan Khabar

ज्ञानखबर

सोम, बैशाख २८, २०८३
337 पटक हेरिएको
‘स्वच्छ प्रशासनको सङ्कल्प’: देशभर सरसफाइ सप्ताह सुरु, भक्तपुर क्यान्सर अस्पतालमा विशेष अभियान

सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित र वातावरणमैत्री बनाउन आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ प्रारम्भ गरेको छ। ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सुरु भएको यस अभियानको औपचारिक उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले वीर अस्पतालबाट गर्नुभयो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको मार्गदर्शनअनुसार सङ्घीयदेखि स्थानीय तहसम्मका सबै सरकारी कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्थाहरूमा यो अभियान अनिवार्य रूपमा सञ्चालन गरिएको छ।

यस अभियानअन्तर्गत न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड लागू गर्ने लक्ष्य राखिएको छ। जसमा कार्यालयको रङरोगन, नागरिक बडापत्रको स्पष्ट व्यवस्थापन, अव्यवस्थित तार तथा पोस्टर हटाउने र दुर्गन्धरहित महिला तथा अपाङ्गतामैत्री शौचालय निर्माणमा विशेष जोड दिइएको छ। साथै, कुहिने र नकुहिने फोहोर छुट्याउने तथा खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाउने नीति सरकारले लिएको छ।

सरकारको आह्वानलाई पछ्याउँदै भक्तपुर क्यान्सर अस्पतालले पनि अस्पताल परिसरमा विशेष सरसफाइ अभियान सुरु गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले सरसफाइलाई केवल औपचारिक कार्यक्रममा मात्र सीमित नराखी नियमित संस्कारका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार अस्पतालले बिरामीको सहजताका लागि थप कुर्सीको व्यवस्था, स्वच्छ पिउने पानी, कुरुवा घरको सुधार र अस्पताल हाताभित्र बगैंचा निर्माण गरी हरियाली प्रवर्द्धन गर्ने योजना अघि बढाएको छ।

अभियानलाई दिगो बनाउन प्रत्येक निकायले सरसफाइ सम्पर्क व्यक्ति तोक्नुपर्ने र मासिक रूपमा स्वमूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ। क्यान्सरजस्ता जटिल रोगका बिरामी आउने अस्पतालमा स्वच्छता अझ संवेदनशील विषय भएको उल्लेख गर्दै डा. चालिसेले कर्मचारीहरूलाई बिरामीमैत्री व्यवहार सम्बन्धी तालिम समेत प्रदान गरिने जानकारी दिनुभयो। यस सप्ताहव्यापी कार्यक्रमले सरकारी निकायको सेवा प्रवाहलाई थप सेवाग्राहीमैत्री र आकर्षक बनाउने विश्वास लिइएको छ।