त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित पुस्तकालयमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी पाँचदिने विशेष क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। आर्थिक पुस्तकालयमा कार्यरत कर्मचारीहरूको कार्यक्षमता विकास गर्ने र आधुनिक प्रविधिसँग अभ्यस्त गराउने उद्देश्यका साथ गत जेठ ४ गतेदेखि सुरु भएको उक्त तालिम आज जेठ ८ गते एक विशेष समारोहका बीच समापन गरिएको हो।
आधुनिक पुस्तकालय व्यवस्थापन र एआईको प्रयोगबारे केन्द्रीकृत यस तालिममा उपत्यकाभित्रका विभिन्न क्याम्पस तथा निकायका पुस्तकालयमा कार्यरत २९ जना र सम्बन्धन प्राप्त क्याम्पसहरूका ५ जना गरी कुल ३४ जना पुस्तकालय कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। पाँच दिनसम्म चलेको यस सघन प्रशिक्षणले सहभागीहरूलाई पुस्तकालय विज्ञानको नयाँ आयामबारे व्यावहारिक ज्ञान प्रदान गरेको छ।
तालिमको समापन सत्रलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष प्रा.डा. शंकर प्रसाद खनालले वर्तमान समयमा कृत्रिम बुद्धिमत्ताका कारण ज्ञान र प्रविधिका सबै विधामा ठूलो रूपान्तरण भइरहेको बताउनुभयो। उहाँले यस प्रकारको तालिमले पुस्तकालय विज्ञान र व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल हुने अपेक्षा व्यक्त गर्नुभयो। सम्बोधनकै क्रममा प्रा.डा. खनालले एआईको बढ्दो प्रभावसँगै यसका सम्भावित जोखिमहरू पनि रहेकाले यस प्रविधिको बारेमा जानकार र सचेत हुँदै नैतिकतापूर्वक प्रयोग गर्न सहभागीहरूलाई विशेष अनुरोध गर्नुभयो।
कार्यक्रमको समापन सत्रमा त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी र केन्द्रीय पुस्तकालयमा कार्यरत सह-पुस्तकालध्यक्ष लाल बहादुर चौहानले तालिमको महत्वमाथि प्रकाश पार्नुभएको थियो। उहाँहरूले पुस्तकालयलाई प्रविधिमैत्री बनाउन यस्ता तालिमहरू कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी सहभागी कर्मचारीद्वय पुजाकुमारी झा र गुन्जन रन्जितकारले तालिम निकै फलदायी र समयसापेक्ष रहेको अनुभव सुनाउनुभयो। कार्यक्रमको अन्त्यमा तालिम संयोजक एवं पुस्तकालय अधिकृत अनिता भट्टराईले तालिमको रूपरेखा र उपलब्धीबारे संक्षिप्त मन्तव्य राख्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै निकाय र सहभागीहरूप्रति आभार प्रकट गर्नुभएको थियो।