विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक र प्रयोगात्मक माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीको अग्रणी शैक्षिक संस्था विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा विद्यार्थी प्रतिनिधि छनोटका लागि निर्वाचन सम्पन्न भएको छ। नेपालको राष्ट्रिय निर्वाचन प्रणालीबारे विद्यार्थीहरूलाई प्रयोगात्मक रूपमा सिकाउने उद्देश्यले आयोजित उक्त चुनावी कार्यक्रममार्फत नयाँ स्कुल क्याप्टेन र हाउस क्याप्टेनहरू छानिएका छन्।
गत जेष्ठ ५ गतेदेखि सुरु भई आज जेष्ठ १२ गते सम्पन्न भएको यस चुनावी प्रक्रियामा कक्षा ४ देखि १० सम्मका करिब ४०० विद्यार्थीहरू उत्साहजनक रूपमा सहभागी भएका थिए। निर्वाचनलाई निष्पक्ष र वास्तविक रूप दिन उम्मेदवार मनोनयन, दाबी-विरोध, उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, मतदान तथा मतगणना लगायतका राष्ट्रिय निर्वाचनका सबैजसो चरणहरूलाई व्यावहारिक रूपमा अभ्यास गराइएको थियो।
आजै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कक्षा १० का छात्र **आरुष श्रेष्ठ** २८४ मत प्राप्त गरी स्कुल क्याप्टेन पदमा निर्वाचित हुन सफल भएका छन्। त्यसैगरी, छात्रा **एन्जिला श्रेष्ठ** सहायक स्कुल क्याप्टेन पदमा विजयी भएकी छिन्।
विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाका अनुसार स्कुल क्याप्टेनका साथै विद्यालयका विभिन्न चारवटा सदन (हाउस) बीच पनि तीव्र प्रतिस्पर्धा भएको थियो। विद्यार्थीहरूले प्रजातान्त्रिक पद्धतिबाट आ-आफ्नो सदनको हाउस क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन्।
मतपरिणाम घोषणा लगत्तै आयोजित एक विशेष समारोहका बीच विजयी विद्यार्थीहरूलाई खादा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
सो अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विजेता सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो। उहाँले व्यावहारिक ज्ञानका साथसाथै प्रयोगात्मक शिक्षा नै विनायक स्कुलको मुख्य विशेषता र पहिचान रहेको उल्लेख गर्नुभयो। यस्ता गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता र लोकतान्त्रिक संस्कारको विकास गर्ने धारणा उहाँले व्यक्त गर्नुभयो।