नेपालका युवा इन्जिनियरहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने र नेपाली शिक्षा क्षेत्रलाई विश्वस्तरीय उद्योगसँग जोड्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय र प्रतिष्ठित विमान निर्माता कम्पनी एअरबस इन्डियाबीच एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा एयरोस्पेस इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी यो सम्झौता गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं त्रिविका सहकुलपति सम्सित पोखरेलको विशेष उपस्थितिमा आयोजित समारोहमा त्रिविका उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्य र एअरबस इन्डियाका अध्यक्ष जुर्गेन वेस्टरमेयरले उक्त सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ।
यस ऐतिहासिक सम्झौताले विशेष गरी नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको इन्टर्नसिपको मार्ग प्रशस्त गरेको छ। यसका साथै उड्डयन क्षेत्रमा नवीन प्रविधिको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारहरू आयोजना गर्ने र संयुक्त अनुसन्धानमा सहकार्य गर्ने लक्ष्य राखिएको छ। यसले विद्यार्थीहरूलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञान सँगसँगै विश्वस्तरीय एयरोस्पेस प्रविधिको व्यावहारिक अनुभव दिलाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै त्रिविका उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्यले नेपालको शैक्षिक प्रणालीलाई उद्योगसँग जोड्ने अभियानमा यो सम्झौता एउटा कोसेढुङ्गा साबित हुने बताउनुभयो। उहाँले त्रिविको प्राथमिकता नेपाली विद्यार्थीहरूका लागि अधिकतम अवसर निर्माण गर्नु रहेको उल्लेख गर्दै एअरबससँगको सहकार्यले जनशक्तिलाई विश्वबजार सुहाउँदो बनाउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, एअरबसका अध्यक्ष जुर्गेन वेस्टरमेयरले नेपाल युवा ऊर्जाले भरिएको गतिशील देश भएको उल्लेख गर्दै यो अवसरलाई देशको विकास र युवा इन्जिनियरहरूको व्यावहारिक सीप निखार्न उपयोग गरिने धारणा राख्नुभयो।
कार्यक्रममा नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनिया कोर्टेभलले नेपालले नागरिक उड्डयनका क्षेत्रमा गुणस्तरीय विकास गर्ने अपेक्षा राख्दै यो सम्झौतालाई एउटा महत्वपूर्ण सुरुवातको रूपमा टिप्पणी गर्नुभयो। त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले उड्डयन क्षेत्र देशलाई जोड्ने र पर्यटन विस्तार गर्ने मुख्य आधारस्तम्भ भएको बताउँदै यस क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवस्थित र व्यावसायिक बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो। यो सम्झौतासँगै नेपालमै एयरोस्पेस इन्जिनियरिङ पढिरहेका विद्यार्थीहरूका लागि वैश्विक उड्डयन क्षेत्रमा बलियो करियर निर्माण गर्ने ढोका खुलेको छ।