नेसनल प्याव्सन भक्तपुरको आयोजनामा आफ्ना सदस्य विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुको लागि नमस्ते ख्वप्प टेलिभिजनको सहकार्यमा ७ दिने उदघोषण तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
साउन ५ गते देखि संचालन भएको उक्त कार्यक्रम रुवी भ्याली स्कुल र क्रियटिभ ई.से. स्कुलमा गरी २ समूहमा प्रशिक्षण गरिएको थियो । कार्यक्रम उपसमितिका संयोजक रमेश प्रसाद सिटौलाको संयोजकत्वमा संचालन भएको प्रशिक्षण कार्यक्रमको समापन समारोह साउन १२ गते क्रियटिभ स्कुलमा नेसनल प्याव्सन केन्द्रीय सह-कोषाध्यक्ष विक्रम ढुकुछुको प्रमुख आतिथ्यमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रमुख अतिथि ढुकुछुले प्रमाण पत्र वितरण पछि बोल्दै भन्नु भयो “नेसनल प्याव्सन भक्तपुरले विद्यार्थीहरुको लागि उदघोषण र बोल्ने कलाको तालिम प्रदान गरी विद्यार्थी जीवन देखि नै व्यक्तित्व विकासमा टेवा दिन सकेकामा ह्रृदय देखि धन्यावद छ ।” ७ दिने उदघोषण तथा व्यक्तित्व विकास प्रशिक्षण नमस्ते ख्वप्प टेलिभिजनका निर्देशक ऋषिकेष श्रेष्ठ र प्रशिक्षक रुविना श्रेष्ठले प्रदान गरेका थिए ।
सहभागी प्रशिक्षार्थीहरुले नै समापन कार्यक्रम संचालन गरेका थिए भने सबै विद्यार्थीहरुले तालिम अवधिको अनुभव सुनाए । नेसनल प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तालिम संचालनका लागि स्थान उपलब्ध गराउने २ विद्यालय रुवी भ्याली स्कुल र क्रियटिभ स्कुल एवं प्रशिक्षक द्वय ऋषिकेष श्रेष्ठ र रुविना श्रेष्ठ लाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको समापनमा विद्यार्थीहरुलाई “७ दिन प्रशिक्षणमा सिकेर मात्र पुग्दैन प्रशिक्षार्थीहरुले निरन्तर प्रयास गर्दै गएमा मात्र सक्षमता हाँसिल गर्न सकिन्छ” भन्दै अध्यक्ष खड्काले हौसला दिएका थिए । साथै व्यक्तिमा भएको सकारात्मक क्षमता अभिव्यक्तिको लागि पनि बोल्ने कलाको आवश्यकता पर्दछ जसको कारण यस्ता कार्यक्रम संचालन गरिएको बताए ।