ताजा अपडेट

ट्रेन्डिङ

मावि तहका विज्ञान शिक्षकहरुलाई एकदिने कार्यशाला सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, साउन १९, २०८०
372 पटक हेरिएको
मावि तहका विज्ञान शिक्षकहरुलाई एकदिने कार्यशाला सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनमा मावि तहका विज्ञान शिक्षकहरुको कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षण पेशालाई केबल जीविका निर्वाह गर्ने ढंगले नहेरी नयाँ पुस्तालाई देश र समाजको लागि सेवा गर्ने भावनासहितको जनशक्ति तयार गर्ने पेशाको रुपमा ग्रहण गर्न आग्रह गरेको छ ।

नगरपालिका मावि तहका विद्यालयहरुमा विज्ञान र गणित प्रयोगशाला बनाउँदै जाने नीति रहेको जानकारी दिँदै उनले भने- विज्ञान विषयको शिक्षण प्रयोग विना प्रभावकारी हुँदैन । संसारको विकास र विनास विज्ञानकै कारण भएको चर्चा गर्दै उनले विद्यार्थीहरुलाई विज्ञान देश र समाजको सेवा गर्ने उद्देश्यसँग जोडेर अगाडि लानुपर्नेमा जोड दिए ।

विज्ञानको प्रगतिको लागि संसारमा अहिले चीन र अमेरिकाबीच प्रतिस्पर्धा भइरहेको तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘अनुसन्धानमा अमेरिकाले वार्षिक ६ खर्ब डलर खर्च गर्छ भने चीन ४ खर्ब डलर खर्च गर्छ जबकि नेपालले ४१ करोड रुपैयाँ अनुसन्धानको लागि बजेट छुट्याउँछ, त्यही पनि पूरा गर्न सक्दैन ।’

sci work gyan 2

गोष्ठीमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले आफू पनि १७ वर्ष शिक्षणपछि निजामतिमा आएको बताउँदै हरेक शिक्षकले पाठ्यपुस्तक मात्र होइन पाठ्यक्रम पनि पढ्नुपर्छ भने । उनले भयरहित शिक्षणको चर्चा गर्दै विद्यार्थीलाई बढीभन्दा बढी प्रश्न गर्न सक्ने बनाउन सके शिक्षण सिकाइ बढी प्रभावकारी हुने विचार व्यक्त गरे ।

विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका संयोजक एवम् वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले स्वागत गर्दै गोष्ठीमा समस्या पहिचान गरी समाधानको खोजी गर्ने र विज्ञान शिक्षण आगामी दिन थप प्रभावकारी हुने अपेक्षासहित गोष्ठीको आयोजना गरेको बताए ।

नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले गोष्ठीको औचित्यतामाथि प्रकाश पार्दै नगर शिक्षा शाखाबाट भएका क्रियाकलापहरुको जानकारी दिए । नगरका ५० जना विज्ञान शिक्षकहरुको सहभागिता रहेको उक्त गोष्ठीमा वरिष्ठ विज्ञान शिक्षक राजेन्द्रबहादुर कायष्ठले सहजकर्ताको भूमिका निभाएका थिए भने ११ वटा पाठ्य इकाइअनुसार ११ वटा समूहमा विभाजन गरी छलफल गराइएको थियो ।