प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा इबोला भाइरसको नयाँ र घातक रुप फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ। कंगोको पूर्वी इटुरी प्रान्तलाई केन्द्रविन्दु बनाएर फैलिएको यो प्रकोपका कारण हालसम्म २४६ जनाभन्दा बढी संदिग्ध बिरामी भेटिइसकेका छन् भने ८० जनाले ज्यान गुमाइसकेका छन्। महामारी तीब्र गतिमा फैलिएपछि विश्वभर नै यसलाई लिएर उच्च सतर्कता अपनाउन थालिएको छ।
डब्ल्यूएचओले कंगोमा महामारी आपतकालको मापदण्ड पूरा गराउन निकै कठिन चुनौतीहरू रहेको उल्लेख गर्दै वर्तमान अवस्था निकै भयावह हुन सक्ने चेतावनी दिएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार हाल पत्ता लागेका र रिपोर्ट गरिएका घटनाहरू भन्दा वास्तविक प्रकोप धेरै ठूलो हुन सक्छ। यो भाइरस स्थानीय र क्षेत्रीय स्तरमा तीव्र गतिमा फैलिरहेकाले यसले छिमेकी देशहरूमा समेत ठूलो संकट निम्त्याउने जोखिम बढाएको छ।
सबैभन्दा डरलाग्दो पक्ष के छ भने, यो पटक फैलिएको महामारी इबोलाको ‘बुन्डिबुग्यो’ भाइरस स्ट्रेनका कारण भएको हो। यस विशेष स्ट्रेनका विरुद्ध लड्न अहिलेसम्म कुनै पनि स्वीकृत औषधि वा खोपहरू विकास भइसकेका छैनन्। यो भाइरस लागेका बिरामीहरूमा सुरुवाती चरणमा कडा ज्वरो आउने, मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने, टाउको र घाँटी दुख्ने जस्ता लक्षणहरू देखिन्छन्। संक्रमण बढ्दै जाँदा बान्ता हुने, पखाला लाग्ने, शरीरमा दागहरू देखिने र अन्ततः आन्तरिक तथा बाह्य रक्तस्राव सुरु भई बिरामीको ज्यान जाने गर्दछ।
हालसम्म प्रयोगशाला परीक्षणबाट आधिकारिक रूपमा ८ वटा केसहरूको पुष्टि भइसकेको छ। इटुरी प्रान्तको राजधानी बुनियाका साथै सुन खानीका लागि चर्चित शहरहरू मोंगवालु र रवाम्पारासहित तीनवटा प्रमुख स्वास्थ्य क्षेत्रहरूमा अन्य शंकास्पद केसहरू र मृत्युका घटनाहरू लगातार रिपोर्ट भइरहेका छन्। यो महामारी प्रान्तीय क्षेत्रमा मात्र सीमित नरहेर देशको राजधानी किन्शासामा समेत पुगिसकेको छ, जहाँ इटुरी प्रान्तबाट फर्किएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको छ।
इबोलाको यो आक्रामक रुप अहिले डीआर कंगोको सीमा पार गरेर छिमेकी देश युगान्डामा समेत प्रवेश गरिसकेको छ। युगान्डामा हालसम्म दुईवटा केसको पुष्टि भइसकेको छ, जसमा गत बिहीबार मृत्यु भएका एक ५९ वर्षीय पुरुषको रिपोर्ट सकारात्मक आएको थियो। छिमेकी मुलुकमा समेत संक्रमण देखिएपछि पूर्वी अफ्रिकी क्षेत्रभरि नै उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै सीमा क्षेत्रमा कडा निगरानी सुरु गरिएको छ।