भक्तपुरको ऐतिहासिक दरबार क्षेत्रस्थित श्रीपद्म माध्यमिक विद्यालयको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण प्राविधिक तथा साधारण धारतर्फका विद्यार्थीहरूका लागि बधाई, सम्मान तथा उच्च शिक्षा मार्गदर्शन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा आयोजित उक्त विशेष समारोहमा उत्तीर्ण विद्यार्थीहरूलाई अबिर, टीका र खादा ओढाएर उज्ज्वल भविष्यको कामनासहित सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका सदस्य सुनिता अवाल तथा प्राचार्य राम हाडाले विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उच्च शिक्षामा पाइला टेक्दा ध्यान दिनुपर्ने पक्षहरूमाथि प्रकाश पार्नुभयो। उहाँहरूले विद्यार्थीहरूलाई सही विषय छनोट, समयको सदुपयोग, स्पष्ट लक्ष्य निर्धारण, कठोर अनुशासन र निरन्तर मेहनत नै सफलताको मूल मन्त्र भएको बताउनुभयो। प्राविधिक र साधारण दुवै शैक्षिक धारको आ-आफ्नो विशिष्ट महत्व रहेको उल्लेख गर्दै वक्ताहरूले कसैको देखासिकीमा नलागी आफ्नो व्यक्तिगत रुचि र क्षमताका आधारमा मात्र अगाडिको अध्ययन यात्रा तय गर्न आग्रह गर्नुभयो।
विद्यार्थीले आफ्नो क्षमता पहिचान गरेर अघि बढे मात्र वास्तविक सफलता सम्भव छ। यसै विद्यालयमा कक्षा ११ र १२ मा उत्कृष्ट एवं गुणस्तरीय शिक्षा उपलब्ध रहेकाले विद्यार्थीहरूले आफ्नै संस्थामा अध्ययनलाई निरन्तरता दिन सकिने प्राचार्य हाडाले बताउनुभयो।
उक्त गरिमामय कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय विद्यालक्ष्मी राजभण्डारी र अनीता फुँयाल, सह-प्रधानाध्यापक सुजितभक्त सालिके, एवं शिक्षक प्रतिनिधि दीपक मुल लगायत विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको व्यवस्थित सञ्चालन शिक्षक योगेन्द्र अधिकारी ‘निष्प्रभ’ ले गर्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण गोराले विद्यार्थीहरूलाई अनुशासित र लगनशील बन्न प्रेरित गर्नुभयो। परीक्षाको नतिजा जीवनको एउटा पाटो मात्र भएको चर्चा गर्दै उहाँले कुनै पनि मोडमा आउने असफलताबाट नआत्तिई, त्यसलाई सिकाइको माध्यम बनाएर निरन्तर प्रयास गरिरहन थप ऊर्जा प्रदान गर्दै सम्पूर्ण विद्यार्थीहरूलाई मार्गनिर्देशन सहितको शुभकामना मन्तव्य व्यक्त गर्दै सभा विसर्जन गर्नुभएको थियो।