रुपन्देहीको लिलाराम न्यौपाने माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी आधुनिक आरओ (RO) वाटर प्लान्ट हस्तान्तरण गरिएको छ। सिद्धार्थ लायन्स क्लब, एभरेष्ट बैंक र लायन्स क्लब सिद्धार्थनगर लोटसको संयुक्त पहलमा बुधबार उक्त खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको हो।
पछिल्लो समय विद्यालयमा विद्यार्थी संख्या बढेसँगै खानेपानीको अभाव भएको जानकारी प्रधानाध्यापकबाट प्राप्त भएपछि क्लबले यो नयाँ परियोजना सुरु गरेको सिद्धार्थ लायन्स क्लबका अध्यक्ष धर्मराज आचार्यले बताए। विद्यार्थीहरूलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराई स्वस्थ शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले यो अभियान चलाइएको उनको भनाइ छ।
कुल २ लाख ५० हजार रुपैयाँभन्दा बढीको लागतमा सम्पन्न यस परियोजनामा एभरेष्ट बैंकले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ भने बाँकी रकम क्लबको आन्तरिक कोष तथा सदस्यहरूबाट संकलन गरिएको हो। विद्यालयमा जडान गरिएको प्रणालीमा शुद्ध र चिसो पानीका लागि आधुनिक आरओ फिल्टर तथा कुलिङ मेसिन राखिएको छ। यसका साथै पानी वितरणका लागि प्रयोग गरिएका स्टिल ट्याङ्की, पाइप र ट्यापहरू पूर्ण रूपमा सुरक्षित ‘फुड ग्रेड’ तथा ‘एन्टी–ब्याक्टेरियल’ प्रविधियुक्त रहेका छन्।
कार्यक्रममा लायन्स क्लब सिद्धार्थनगर लोटसकी अध्यक्ष सरिता आचार्यले आगामी दिनमा जडान गरिएका उपकरणहरूको संरक्षण र मर्मतका लागि विद्यालय र क्लबबीच निरन्तर सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरिन्।