ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरीमा १५९ औँ मोती जयन्ती तथा गजल गोष्ठी सम्पन्न

Gyan Khabar

ज्ञानखबर

१७ भदौ २०८१, सोमबार
623 पटक हेरिएको
वागीश्वरीमा १५९ औँ मोती जयन्ती तथा गजल गोष्ठी सम्पन्न

वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानाजमेण्टको आयोजनामा युवाकवी मातीराम भट्टको १५९ औँ जन्म जयन्तीको अवसरमा सोमबार गजल गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एवम् वागीश्वरी मा.वि. कक्षा ११÷१२ का संयोजक ज्ञानसागर प्रजापतिले गजल कार्यक्रममा प्रस्तुत गरेका गजललाई आफ्नो व्यवहारिक र सार्थक जीवनको लागि प्रयोग गर्नुपर्ने बताए । उनले साहित्यकारका हरेक रचना शोख र मनोरञ्जनका लागि मात्र नभएर समाज र जीवनमा सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा जोड दिए ।

साथै यस विद्यालयका विद्यार्थीहरुले साहित्यबाट जीवनपद्धतीमा रुपान्तरण गरेको बताउँदै साहित्यमार्फत भ्रष्टाचारको विरोध गर्नु जति सजिलो छ, भ्रष्टाचारीहरुको सामना गर्न निकै कठिन हुने चर्चा गरे । उहाँले मोतीराम भट्टको चर्चा गर्दै भानुलाई विविध पक्षबाट चिनाउन सफल भएको बताए ।

विद्यार्थीहरुबाट बाचन भएका गजलहरुको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवम् वागीश्वरी मा.वि.का पूर्व शिक्षक चन्द्र प्रसाद ढकालले वागीश्वरीले प्रदान गरेको यस्तो मञ्च अन्य विद्यालयमा कमै पाएको चर्चा गरे । यसबाट गजल विधामा उत्कृष्ट विद्यार्थी तयार गर्नसकेको स्पष्ट पार्दै उहाँले विगतका वर्षहरुमा गजल संगालो समेत प्रकाशन गरेको बताए ।

प्रधानाध्यापक एवं कार्यक्रमका सभापति कृष्ण प्रसाद कर्माचार्यले वागीश्वरीले पाठ्यक्रममा मात्र सीमित नराखी विभिन्न अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई अघि बढाएको स्पष्ट पारे । साथै यस गजल कार्यक्रमले विद्यार्थीहरुमा निखारता ल्याएको औल्याए ।

नेपाली शिक्षक हिरालाल फुँयालले स्वागत गरेको उक्त कार्यक्रममा गजल गायक देनि निरौला, गितारबादक रमेश सुवेदी र तवलाबादक बद्री सेवाको सांगीतिक समूहबाट मिठासपूर्ण गजल प्रस्तुत भएको थियो ।

शिक्षक हरिप्रसाद ढकालले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षकहरु रविन्द्र न्हेम्हाफुकी, नविन्द्रलाल कर्माचार्य, प्रजापति खनाल, गीता खनाल, गनु साम्पाङ राईले गीत तथा गजल प्रस्तुत गरेको थियो भने विद्यार्थीहरु क्रिषला प्रजापति, सृष्टि कार्की, प्रकाश रोकाया, रमेश गोरा, सरिना श्रेष्ठ, सुवान सुवाल, दावा तामाङ, हिरा तामाङ, देवराज विक, सुमित्रा श्रेष्ठ, गणेश विष्ट, मुकुण्ड रोकाया, सन्ध्या श्रेष्ठ, आभा प्रजापति, सुशान्त बुढाथोकी, झरना कुमारी विक, स्मृति घले, सुजन खत्री, निरुता श्रेष्ठ, विवेश धमला लगायतले गीत तथा गजल बाचन गरेको थियो ।

कार्यक्रम पश्चात प्रमुख अतिथिबाट सांगीतिक टोलीलाई मायाको चिनो प्रदान गरिएको थियो ।