ताजा अपडेट

ट्रेन्डिङ

नयाँ शैक्षिक सत्र र आइतबारको विदाबारे अन्योल: भक्तपुर नगरपालिकाद्वारा सरोकारवालासँग विशेष परामर्श

Gyan Khabar

ज्ञानखबर

बुध, बैशाख २, २०८३
50 पटक हेरिएको
नयाँ शैक्षिक सत्र र आइतबारको विदाबारे अन्योल: भक्तपुर नगरपालिकाद्वारा सरोकारवालासँग विशेष परामर्श

नयाँ शैक्षिक सत्रको समयतालिका र सरकारले लागू गरेको आइतबारको सार्वजनिक विदाका सम्बन्धमा उत्पन्न अन्योल चिर्न भक्तपुर नगरपालिकाले सरोकारवाला पक्षहरूसँग घनीभूत छलफल गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार सम्पन्न उक्त बैठकमा विभिन्न विद्यालय संगठन, अभिभावक संघ र शिक्षा क्षेत्रका प्रतिनिधिहरूले आफ्ना धारणा र सुझाव राखेका थिए।

छलफलका क्रममा सहभागी प्रतिनिधिहरूले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकारभित्र पर्ने संवैधानिक व्यवस्थालाई स्मरण गराउँदै केन्द्र सरकारले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे। शिक्षा नियमावलीले वैशाख १ गतेबाटै नयाँ शैक्षिक सत्र सुरु हुने स्पष्ट पारेको अवस्थामा सरकारले पर्याप्त गृहकार्य नगरी हतारमा वैशाख १५ को मिति तोक्नु अव्यावहारिक भएको उनीहरूको तर्क थियो।

त्यसैगरी हप्तामा दुई दिन विदा दिने सरकारी निर्णयले शैक्षिक क्षेत्रमा पार्ने प्रभावका बारेमा पनि बैठकमा गम्भीर चिन्ता व्यक्त गरियो। नेपालमा सार्वजनिक विदाको संख्या पहिले नै बढी भएको र विद्यमान पाठ्यभार पूरा गर्न शिक्षकहरूलाई हम्मे-हम्मे परिरहेको अवस्थामा आइतबारको थप विदाले विद्यार्थीको सिकाइ प्रक्रियामा नकारात्मक असर पुग्ने सहभागीहरूले बताए। यस्तो निर्णयले शैक्षिक गुणस्तर खस्कन सक्ने र तोकिएको समयमा पाठ्यक्रम नसकिने आशंका उनीहरूले व्यक्त गरे।

छलफलमा सहभागीहरूले अभिभावक र विद्यार्थीको भावनालाई बुझेर भक्तपुर नगरपालिकाले एक अभिभावकीय र ठोस निर्णय लिनेमा ठूलो विश्वास व्यक्त गरेका छन्। नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भएको उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, नगर शिक्षा शाखा प्रमुखका साथै इसान, प्याब्सन, एन-प्याब्सन, हिसान, सार्वजनिक शैक्षिक गुठी सञ्चालक संघ र अभिभावक संघका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

नगरपालिकाले यसअघि चैत ३० गते पनि सामुदायिक विद्यालय, संयुक्त परीक्षा समिति र आधारभूत विद्यालयका प्रतिनिधिहरूसँग छुट्टै छलफल गरी राय सुझाव संकलन गरेको थियो। सबै क्षेत्रबाट प्राप्त सुझावहरूलाई मध्यनजर गर्दै नगरपालिकाले चाँडै नै नगरको शैक्षिक क्यालेन्डर र विदाका सम्बन्धमा आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ।