निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति भक्तपुरले शनिबार काठमाडौँ फन भ्यालीमा एक भव्य सम्मान समारोहको आयोजना गरेको छ। समारोहमा केन्द्रीय र बागमती प्रदेश प्याब्सनको नव निर्वाचित नेतृत्वलाई बधाई तथा सम्मान अर्पण गरियो। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले भक्तपुरको शिक्षा क्षेत्रमा नयाँ ऊर्जा थपेको छ।
कार्यक्रममा केन्द्रीय प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू, बागमती प्रदेश प्याब्सनको चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरू र प्रदेशका १२ जिल्लाका प्याब्सन अध्यक्षहरूलाई सम्मान गरिएको थियो। भक्तपुरबाट केन्द्रीय प्याब्सनमा वरिष्ठ उपाध्यक्ष दीपिका रिमाल थापा, उपमहासचिव भुवललाल श्रेष्ठ, कोषाध्यक्ष गणेशबाबु पोखरेल र केन्द्रीय सदस्यहरू चन्द्र अधिकारी र सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्वाचित भएका छन्। त्यसैगरी, प्रदेश प्याब्सनमा वरिष्ठ उपाध्यक्ष सानुराजा कार्कीले भक्तपुरको नेतृत्व गरेका छन्।
कार्यक्रममा बोल्दै मन्त्री थापाले निजी क्षेत्रले शिक्षा विकासमा पुर्याएको योगदानको प्रशंसा गरे। उनले सामुदायिक विद्यालयलाई पनि अब्बल बनाउन प्याब्सनले आफ्नो अनुभव, सीप र योग्यता बाँड्नुपर्ने आवश्यकता औँल्याए। “निजी विद्यालय सञ्चालकको लगानी सुरक्षित हुनेमा म विश्वस्त छु,” उनले भने, “भक्तपुरलाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने हाम्रो लक्ष्य छ।”

प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले सदस्य विद्यालयको हितमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। “हामी नीतिगतरुपमा विद्यालयको सुरक्षा, शिक्षकको हकहित र विद्यार्थीको शैक्षिक उपलब्धिमा केन्द्रित रहनेछौँ,” उनले भने।
जिल्ला प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपालले अग्रजको सम्मान र आपसी सद्भाव बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा जिल्ला प्याब्सन भक्तपुरको वार्षिक कार्ययोजना पनि प्रस्तुत गरिएको थियो। नववर्ष २०८२ र बिस्का जात्राको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो।

