मध्यपुर ठिमी नगरपालिकाको शैक्षिक धरोहर, विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले २०८१ साल चैत्र २८ गते आफ्नो ३६ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। शिक्षा, सभ्यता र संस्कृतिको त्रिवेणीको रूपमा परिचित यस विद्यालयको वार्षिकोत्सव मध्यपुर ठिमीको शैक्षिक क्षेत्रमा एक विशेष उत्सव बनेको थियो।
कार्यक्रम मध्यपुर ठिमी नगरपालिकाका शिक्षा तथा सामाजिक विकास महाशाखाका प्रमुख ज्ञानेन्द्र भट्टको प्रमुख आतिथ्यता र विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो। विद्यार्थीहरूको उत्साहजनक प्रस्तुतिले कार्यक्रमलाई जीवन्त बनाएको थियो। उनीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
शैक्षिक सत्र २०८१ मा विद्यालयमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलाप (सिसिए तथा इसिए) मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि भट्ट र सभापति प्रजापतिले ट्रफी तथा मेडल प्रदान गरी सम्मानित गरेका थिए। कक्षा ४ देखि १० सम्मका बालबालिकाका अभिभावकहरूको उल्लेख्य उपस्थिति कार्यक्रममा रहेको थियो, जसले विद्यालय र अभिभावकबीचको बलियो सम्बन्धलाई दर्शाउँथ्यो।
कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, अभिभावक अतिथिहरू अभयन्द्र रन्जित, नरेन्द्र अवाल र उषा प्रजापतिले आफ्ना विचारहरू व्यक्त गरेका थिए। उनीहरूले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थी विकासमा विद्यालयले पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
वार्षिकोत्सवको मुख्य आकर्षण शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूको सम्मान थियो। यस अवसरमा विद्यार्थीहरूले मनमोहक गीत, बाद्यवादन र नृत्य प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए। विद्यालयले आफ्नो स्थापनादेखि नै शिक्षा क्षेत्रमा निरन्तर सेवा पुर्याउँदै आएका नौ जना शिक्षक शिक्षिका र दुई जना कर्मचारीहरूलाई ‘विनायक दीर्घ सेवा पुरस्कार’ प्रदान गरी उनीहरूको समर्पण र योगदानको कदर गरेको थियो।
कार्यक्रममा बोल्दै प्रिन्सिपले प्रजापतिले संस्कारले विद्यार्थीहरूमा अनुशासनको विकास गर्ने र अनुशासित विद्यार्थीहरू नै भविष्यको विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुने विचार व्यक्त गरे। उनले विनायक शिक्षा निकेतनले स्थापनाकालदेखि नै संस्कार, सीप र युग सुहाउँदो प्रगतिशील शिक्षामा जोड दिँदै आएको र वर्तमान २१औँ शताब्दीको मागलाई सम्बोधन गर्न प्रविधियुक्त शिक्षालाई विशेष प्राथमिकता दिइरहेको जानकारी गरे। विद्यालयले विद्यार्थीहरूको अद्वितीय प्रतिभालाई पहिचान गरी ‘एक विद्यार्थी एक सिप’ को अवधारणालाई कार्यान्वयन गरिरहेकोमा अभिभावकहरूले विद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।
विनायक शिक्षा निकेतनको ३६ औँ वार्षिकोत्सव शैक्षिक उत्कृष्टताको उत्सव मात्र नभई विद्यार्थी, शिक्षक र अभिभावकबीचको अटुट सम्बन्धको प्रतीक पनि बनेको थियो। विद्यालयले आगामी दिनहरूमा पनि शिक्षाको ज्योति फैलाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।