नेपालभरका प्रधानाध्यापकहरूको छाता संगठन, प्रधानाध्यापक संघ नेपाल (PAN) ले वैशाख ७ गते काठमाडौंमा एक बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कन्या मन्दिर मावि न्यौखामा सम्पन्न भएको कार्यक्रममा ७७ वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। शिक्षक आन्दोलनका क्रममा काठमाडौं आएका प्रधानाध्यापकहरूले समसामयिक शैक्षिक विषयवस्तु र आन्दोलनको आगामी रणनीतिबारे गहन छलफल गरेका छन्।
संघको काठमाडौं शाखाका अध्यक्ष प्रकाश सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष सुदाम गौतम तथा अन्य पदाधिकारी, केन्द्रीय सदस्य र देशभरिका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा हाल जारी शिक्षक आन्दोलनलाई उपलब्धिमूलक बनाउनुपर्ने र वार्ताको माध्यमबाट छिटो समाधान खोज्नुपर्ने विषयमा गम्भीर छलफल भएको थियो। नजिकिँदै गरेको भर्नाको समय, कक्षा १२ को बोर्ड परीक्षा, नयाँ शैक्षिक सत्रको सुरुवात र विद्यालयहरूमा कक्षा सञ्चालनको समयलाई मध्यनजर गर्दै सरकारले शिक्षक आन्दोलनका अधिकतम मागहरू पूरा गर्न तत्काल ठोस कदम चाल्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
प्रधानाध्यापकहरूले रचनात्मक समाधानसहित आन्दोलनको शान्तिपूर्ण समापन हुनुपर्ने र राज्यले शिक्षा ऐनलाई प्रक्रिया अनुसार छिट्टै ल्याउने प्रतिबद्धता जनाउनुका साथै त्यसका लागि स्पष्ट समयतालिका तयार पार्नुपर्ने माग गरेका छन्। यसका लागि आवश्यक समन्वय र सहजीकरण गर्न संघ तयार रहेको पनि उनीहरूले बताएका छन्।
आन्दोलनको अर्थपूर्ण समापन होस् भन्ने उद्देश्य राखेको संघले आन्दोलन लम्बिएमा काठमाडौंमा करिब ४०० जना प्रधानाध्यापक तथा शिक्षकहरूको बसोबास र खानाको व्यवस्था गर्ने जानकारी समेत दिएको छ। कार्यक्रमको समापनपछि सहभागीहरूका लागि रात्रिभोजको आयोजना गरिएको थियो।
