भक्तपुरको वी किड्स स्कूलमा स्पोर्टस कार्निभल सुरु भएको छ । सूर्यविनायकको पाण्डुबजारस्थित सो स्कुलले माघ २ गतेदेखि स्पोर्टस कार्निभल सुरु गरेको हो ।
कार्निभलमा विद्यालयका प्ले ग्रुपदेखि कक्षा एक सम्मका छात्राछात्रहरूले भाग लिएका छन् । कार्निभलमा योगा, एथलेसिटक्स, ब्यालेन्सिङ गेम, स्याक रेस, पोटाटो रेस, हुला हुप रेस, बेलुन ब्लास्ष्ट, म्युजिकल चियर, कल र गेम्स, थ्रेडिङ गेम्सलगायतका खेलहरू समावेश गरिएको विद्यालयले जनाएको छ ।
सो कार्यक्रमको उद्घाटन माघ ३ गते विद्यालयका प्रिन्सिपल मञ्जु दुवालले दिप प्रज्वलन गरी गरेकी थिइन् । बालवालिकाहरूको संर्वाङ्गिण विकासका लागि खेलकुद एक महत्वपूर्ण पक्ष भएकाले खेलकुदमार्फत् बालबालिकाहरुको शारिरीक तथा मानसिक र व्यवहारिक शिक्षाको विकासमा टेवा पुर्याउनका लागि सो कार्निभल गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुका लागि लक्षित गरी गरिएको कार्निभलले बालबालिकाहरुको संवेगनात्मक तथा भावनात्मक अवस्थालाई नियन्त्रण गर्नमा मद्दत गर्ने र नकारात्मक सोच तथा भावनालाई सकारात्मक बनाउन सहयोग गर्ने विद्यालयकी प्रिन्सिपल मञ्जु दुवालले बताइन् । ‘खलेकुदले बालबालिकाहरुमा लुकेर बसेका विभिन्न प्रतिभाहरू उजागर गर्न पनि मद्दत गर्दछ । विद्यार्थी भाईबहिनीहरूको यी नै विविध विभिन्न पक्षहरूको विकास गर्ने उद्येश्यले विद्यालयवाट यो कार्यक्रम संचालन गरिएको हो,’ प्रिन्सिपल दुवालले भनिन् ।
माघ ६ गते सकिने सो कार्निभलका विभिन्न खेलमा विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरी समापन गरिने विद्यालयले जानकारी दिएको छ।